देशका प्रमुख सहरमा सहकारी खोलेर सर्वसाधारणको बचत हिनामिना गर्ने गितेन्द्रबाबु (जीबी) राईको समूहमा आफूलाई जोडिएको समाचार प्रकाशन भएपछि रवि लामिछाने अदालत गएका छन् ।
सहकारी ठगीमा आफ्नो प्रत्यक्ष भूमिका रहेको समाचार लेखेको भन्दै कान्तिपुर दैनिकविरुद्ध रवि जिल्ला अदालत काठमाडौं गएका हुन् ।
ग्यालेक्सी टीभी (गोर्खा मिडिया नेटवर्क प्रालि) का तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीहरूबाट गैरकानुनी रूपमा रकम आएको विषयमा आफू जानकार नभएको दाबी गर्दै आएका थिए ।
मुद्दा हालेपछि उनले फेसबुकमा भनेका छन् ‘‘म आरोप लाग्नै नहुने मान्छे होइन । तर, म समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए \ देखिएलगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु । यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूकाविरुद्ध कानुनी उपचारमा गएको छु ।’’