नेपालकै ठुलो सहकारी घोटाला : जीबी राईका पार्टनर को को ?

  • मिसन संवाददाता
  • बुधबार, पुस १८, २०८० १0:३३
नेपालकै ठुलो सहकारी घोटाला : जीबी राईका पार्टनर को को ?

नेपालमा सवैभन्दा ठुलो सहकारी ठगीमा आउने नाम हो शिवशिखर बहुउद्देश्यीय सहकारी र त्यसका अध्यक्ष केदारनाथ शर्मा । देशका विभिन्न सहरमा सहकारी स्थापना गरि हजारौँ बचतकर्ताको झन्डै १८ अर्ब रकम अपचलन गरेको अभियोगमा शर्मा यतिबेला जेलमा छन् । तर, उनलाई समेत माथ दिनेगरि पछिल्लो समय गितेन्द्रबाबु राई र उनको समुहले गरेको सहकारी ठगीका विवरणहरु सार्वजनीक भइरहेका छन् । देशका मुख्य सहरहरुमा राई नेतृत्वमा सञ्चालनमा आएका सहकारीले गरेको बदमासिको नालिबेली कस्तो छ त ?

ग्यालेक्सी फोरके टेलीभिजनका अध्यक्ष समेत रहेका जीबी राईको समूहले बुटवलको चौराहामा प्रधान कार्याल राखेर सञ्चालन गरेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले करिब ८ हजार बचतकर्तालाई विचल्ली बनाएको छ । सहकारीको बुटवल, भैरहवा र कपिलवस्तुको जितपुर शाखाबाट संकलन भएको झन्डै १ अर्ब १५ करोड बराबरको रकम राई नेतृत्वको समूहले हिनामिन गरेको आरोप छ । २०७३ सालबाट सञ्चालनमा आएको सहकारीको उक्त पैसा जीबी राई आफैले अपचलन गरेको सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङको स्वीकारोक्ति छ । यो सहकारीमा राई अध्यक्ष हुँदा दिपेश पुन सचिव थिए ।

यो बाहेक काठमाडौं, ललितपुर, वीरगञ्ज, चितवन लगायका मुख्य सहरहरुमा जीबी राई र उनी नेतृत्वमा सञ्चालनमा आएको सहकारीहरुले हजारौँ बचतकर्तालाई विचल्ली बनाएका छन् । पीडितहरु बचत रकम फिर्ता माग्दै स्थानीयदेखि केन्द्रसम्मका सवै सम्बन्धित निकायमा पुग्ने गरेको तर सवै तिरबाट आश्वासन मात्रै पाएको बताउँछन् ।

जिबी राई र उनको ग्याङको सहकारी सञ्जाल

१.स्वर्ण लक्ष्मी बहुउद्देयीय सहकारी संस्था लिमिटेड
स्थान–काठमाडौं
कुल कारोबार–३ अर्ब ५३ करोड
निक्षेप–३ अर्ब
अध्यक्ष–गितेन्द्रबाबु राई (जीबी)

२. सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था
स्थान–पोखरा
कुल कारोबार– १ अर्ब ५५ करोड
निक्षेप– विवरण संकलन जारी
अध्यक्ष– थानबहादुुर बुढा

३. सुप्रिम बचत तथा ऋण सहकारी संस्था
स्थान–बुटवल
कुल कारोबार–१ अर्ब ५१ करोड
निक्षेप दायित्व–१ अर्ब ३३ करोड
अध्यक्ष–आमेप्रकाश गुरुङ

४.सानो पाइला बचत तथा ऋण सहकारी संस्था
स्थान– विरगञ्ज
निक्षेप– १ अर्ब २० करोड
अध्यक्ष– अनन्तबाबु राई

५. साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
स्थान– चितवन
कुल कारोबार– ८७ करोड २१ लाख
निक्षेप– ७९ करोड ५५ लाख
अध्यक्ष– सागर केसी

६. हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड
स्थान– काठमाडौं
कुल कारोबार– ४५ करोड
अध्यक्ष– गितेन्द्रबाबु राई (जीबी)

७.समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड
स्थान– नेपालगञ्ज
कुल कारोबार– २० करोड माथि
अध्यक्ष– अध्यक्ष–गितेन्द्रबाबु राई (जीबी)

८.लालिगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेड
स्थान– काठमाडौं
कुल कारोबार–४ अर्ब ४७ करोड
निक्षेप– ३ अर्ब ९६ करोड
अध्यक्ष– धनबहादुर लामा

९. कल्याण उपकार सेभिङ एण्ड क्रेडिट
स्थान– ललितपुर
कुल कारोबार– २ अर्ब ४७ करोड
निक्षेप – १ अर्ब ८३ करोड
अध्यक्ष– लिलाबहादुर गुरुङ

राई र उनको समूहले देशका विभिन्न शहरहरुमा खडा गरेको सहकारी नेटवर्कको फेहरिस्त हो यो । यिनै विभिन्न नाममा सहकारी खोल्ने र हजारौँ बचतकर्ताको उठिबास बनाउने उनीहरूको प्रमुख उद्देश्य हो । यो समुहले झन्डै १६ अर्ब बढी रकम नियमविपरीत जीबि गु्रप अफ कम्पनी प्रा.लि, गोर्खा ग्रुप अफ कम्पनी लि., नेचर हर्ब्स प्रा.लि, नेचर नेस्ट प्रा.लि., हर्बो इन्टरनेशनल प्रा.लि, गोर्खा आयुर्वेद प्रा.लि, गुप्ती टी इस्टेट प्रा.लि लगायका विभिन्न कम्पनीमा लगानी गरेको अनुसन्धानबाट खुलेको सितल रिजालले न्युज २४ नेपालमा लेखेका छन्।

राई नेतृत्व र सहकार्यमा विभिन्न सहरहरुमा खुलेका सहकारीहरु यतिबेला बन्द छन् । सहकारीको बचत अपचलन, आर्थिक अनियमितता, ठगी लगायका आरोपमा राई सहित ९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । तर उनी फरार रहेका छन् भने बचतकर्ताहरु थप तनावमा देखिन्छन् ।

  • मिसन संवाददाता
  • -