खोटाङमा श्रमदानबाटै सडक फराकिलो बनाइँदै

  • मिसन संवाददाता
  • बुधबार, पुस १८, २०८० ११:२0
खोटाङमा श्रमदानबाटै सडक फराकिलो बनाइँदै

दिनराज कार्की : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्राङस्थित सामातुङ पाँचगरे सडकलाई स्थानीयबासीले श्रमदान गरेरै फराकिलो बनाउने भएका छन् । ३ मिटर चौडाई रहेको सडकलाई ६ मिटर फराकिलो बनाउने गरी आफ्नो गाउँ आफै बनाउँ भन्दै स्थानीयबासी नगरपालिकाको सहयोग लिदै श्रमदानमा जुटेका छन् ।

यो सडक स्तरोन्नति गर्न स्थानीय आफै श्रमदानमा जुटेका छन् । सामातुङ घर भइ हाल विदेशमा रहेका र उनीहरुको परिवारको आर्थिक सहयोगमा चार किलोमिटर लामो सडक स्तरोन्नतीको काम सुरु गरिएको हो । सामातुङ र थापागाउँका ७९ घरका स्थानीयले कम्तीमा १० दिन श्रमदान गर्नेछन् । यदी समयका बाबजुद कुनै घरबाट आउँन नभ्याएको खण्डमा दैनिक पाचँ सय रुपैयाँको दरले समितिको खातामा जम्मा गर्नु पर्नेछ ।

बेलायतमा रहेका २७ जना सामातुङ्गेबाट प्राप्त भएको १६ लाख ७७ हजारमा सामातुङ पाँचगरेबाट सडक स्तरोन्नतीको काम सुरु गरिएका हो । २०७६ सालमा एक लाखमा ट्र्याक खोलिएको सडक स्तरोन्नतिका लागि नगरपालिकाले १० लाख दिने आश्वासन दिएको छ ।

यस्तै, सडकका लागि वडा कार्यालय बाम्राङबाट दुई लाख ५० हजार प्राप्त भएको श्रम समितिले जनाएको छ । सडक फराकिलो बनाउने, ड्रेन हाल्ने, हिलो हुने क्षेत्रमा कजवे राख्ने, आरसीसी ढलान गर्नेगरी स्तरोन्नतीको काम थालिएको हो । करिब ३२ लाखको लागतमा सडक स्तरोन्नतीको काम पूरा हुने बताइएको छ ।

संकलित रकममध्ये १४ लाख नगरप्रमुख भट्टराईमार्फत उपभोक्ता समितिलाई पुस १० गते शिलान्यास कार्याक्रममा हस्तान्तरण गरिएको र बाँकी २ लाख ७७ हजार ५ सय रुपैयाँ पनि नगर प्रमुख तिर्थराज भट्टराईमार्फत हस्तान्तरण गरिको छ ।

युकेमा रहेका वडाबासी, नगरपालिका र वडाकार्यालयबाट प्राप्त भएको रकमले इन्धन खरिद गरेर जेसिभि र डोजर चलाउनुका साथै आवश्यक उपकरण खरिद गर्ने व्यवस्था मिलाइएको छ । सडक स्तरोन्नतीको कामबाट बचेको रकमलाई अन्य क्षेत्रमा खर्च गर्ने तयारी छ ।

  • मिसन संवाददाता
  • -