संसदको प्रमुख प्रतिपक्षी गठबन्धनसँग राष्ट्रियसभामा सिट माग्दै !

  • मिसन संवाददाता
  • बुधबार, पुस १८, २०८० १९:३४
संसदको प्रमुख प्रतिपक्षी गठबन्धनसँग राष्ट्रियसभामा सिट माग्दै !

राष्ट्रियसभामा नेकपा एमालेलाई पनि सीट दिएर जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रयासले गठबन्धनमा असन्तुष्टि देखिएको छ ।

दुई दिनसम्म बसेको कांग्रेस र माओवादीबीचको बैठकमा एमालेलाई पनि केही सीट दिएर जानेबारे सकारात्मक छलफल भएपछि अन्य दलले असन्तुष्टि जनाएका हुन् ।

बैठकमा सहभागी एक नेताले एमालेको प्रस्ताव कुन ढंगबाट आएको भन्ने नबुझेसम्म त्यसबारे निर्णय लिन नसकेको बताए । आजको बैठकमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीले आफूहरुलाई शून्य बनाएर नजान भन्दै आग्रह गरेको जानकारी गराएका थिए ।

ती नेताले भने, ‘गठबन्धन दलले कति पाउँने टुंगो छैन । एमालेको प्रस्ताव के हो ? उहाँहरुले आफ्नो ९ सीट नै माग्नुहोला रे । हामीले कति पाउँने टुंगो छैन । त्यो दिन सकिँदैन ।’

ती नेताका अनुसार गठबन्धनमै भएका दलहरुको आकांक्षा धेरै भएकाले एमालेसहितको सहमति बन्न सम्भावना न्यून छ । एमालेलाई समेट्ने प्रयास असफल भए राष्ट्रियसभामा ८ सीटमा खुम्चिनेछ । आगामी माघ ११ गते रिक्त २० सीटमा निर्वाचन हुँदैछ ।

राष्ट्रियसभामा एमालेलाई समेट्ने गरी प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गरेका छन्। यस्तोमा बुधबार अपरान्ह यसबारे प्रचण्ड र देउवासँग छलफलका लागि ओली बालुवाटार पुगेका थिए। त्यहीँ उक्त कुरा राखिएको हो।

प्रधानमन्त्री प्रचण्ड संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रियालाई टुंगोमा पुर्‍याउने तयारीमा छन्। त्यसमा एमालेलाई सहमतिमा ल्याएर अघि बढ्ने उनको योजना छ। यस्तोमा उनले राष्ट्रियसभामा एमालेलाई पनि भाग छुट्याउने गरी केही दिनयता छलफल गरिरहेका छन्।

एमालेले आफूलाई पनि राष्ट्रियसभामा भाग छुट्याउनुपर्ने कुरा प्रचण्डसँग राखेको हो। एमालेको प्रस्तावपछि अब गठबन्धनको बैठक बिहीबार बिहान ९ बजे बालुवाटारमा बस्ने गरी सकिएको छ।

  • मिसन संवाददाता
  • -