नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन आफू आएकै दिन चिनियाँ नेतालाई पनि बोलाएको भन्दै भारतका विदेशमन्त्री एस जयशंकरले नेपाली पक्षसमक्ष असन्तुष्टि जनाएका छन् । बिहीबार दिउँसो चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का युनान प्रान्त डेपुटी सेक्रेटरी सी युगाङ चारदिने भ्रमणका लागि काठमाडौं आएका छन् ।
२०७२ मा नेपालको संविधानसभाले दफा–दफा गर्दै संविधान पारित गरिसकेपछि भारतका तत्कालीन विदेश सचिव जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा काठमाडौं आएका थिए । तत्काल संविधान जारी नगर्न गरेको आग्रह अस्वीकार गरेको भन्दै उनले नेपाली नेताहरूसँग वादविवाद गरेका थिए । यसपालि विदेशमन्त्रीका रूपमा आएका बेला पनि उनले चिनियाँ नेताको भ्रमणको विषयलाई आफ्नो ‘प्रतिष्ठा’ को विषय बनाएको परराष्ट्रका अधिकारीहरूले बताएका छन् ।
नेपाल-भारतको संयुक्त आयोगको बैठककै दिन सीपीसी नेता सी युकाङ नेपाल भ्रमणमा आएका हुन्। नेपाल बसाईका क्रममा उनले उपराष्ट्रपति रामसहाय प्रसाद यादव, पर्यटनमन्त्री सुदन किरातीलगायतसँग भेटवार्ता गर्नेछन्। उनले नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूसँग पनि भेट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।
पर्यटनमन्त्रीसँगको भेटमा युकाङले पोखराबाट चीन सिधा उडानका बारेमा छलफल गर्ने बताइएको छ।