क्यालेन्डरमा संसद चलाउने माधव सापकोटाको प्रस्तावले मुर्त रुप लिंदै

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० १0:१२
क्यालेन्डरमा संसद चलाउने माधव सापकोटाको प्रस्तावले मुर्त रुप लिंदै

संघीय संसद्को आगामी अधिवेशन क्यालेन्डरमा सञ्चालन हुने भएको छ । संसद्लाई क्यालेन्डरमा चलाउन सभामुख देवराज घिमिरेले गृहकार्य थालेका हुन् । संसद् सचिवालयले क्यालेन्डरको मस्यौदासमेत प्रस्तुत गरेको छ ।

दलहरूले क्यालेन्डरको मस्यौदालाई आवश्यक परिमार्जनसहित अन्तिम रूप दिएर आगामी अधिवेशनमा लागू गर्न सहमति प्रदान गरेको संसद् सचिवालयका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनपछि संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी छ ।

कार्यवाहक महासचिव पाण्डेयका अनुसार सभामुख घिमिरेले बुधबार बोलाएको प्रमुख तीन दलका सचेतकको बैठकमा संसद् सचिवालयले क्यालेन्डरको मस्यौदा प्रस्तुत गरेको थियो । मस्यौदामा कम्तीमा १५ दिनदेखि बढीमा महिना दिनसम्मको कार्यतालिका तय गरेर संसदीय पात्रो लागू गर्ने प्रस्ताव छ । प्रस्तावमा सदन र संसदीय समिति हप्तामा तीन–तीन दिन चलाउने भनिएको छ । यसअनुसार हप्ताको सुरुवाती तीन दिनमा सदन चल्नेछ भने बाँकी दिन समिति बैठक बस्नेछन् ।

दलका सचेतक तथा कानुनमन्त्रीसँगको छलफलपछि सभामुख घिमिरेले आगामी अधिवेशन क्यालेन्डरकै आधार चल्ने बताए । ‘अब क्यालेन्डरमै जान्छौँ । यसको तयारीका लागि सुझाव लिइरहेका छौँ, छिट्टै अन्तिम टुंगोमा पुग्छौँ,’ उनले भने, ‘आगामी अधिवेशन क्यालेन्डरअनुसारै चल्छ ।

२३ चैत्र २०७९ मा माओवादी सांसद माधव सापकोटा सुवोधले वार्षिक बजेट कार्यान्वयन क्यालेन्डर बनाउने प्रस्ताव गरेका थिए । आर्थिक वर्षको अन्तिममा मात्रै बजेट खर्च हुने प्रबृतिको अन्त्यका लागि वार्षिक बजेट क्यालेन्डर बनाएर लागू गर्न सकिने भन्दै उनले उक्त प्रस्ताव गरेका थिए।

बैठकमा बोल्दै उनले भनेका थिए, ‘बार्षिक बजेट क्यालेन्डर बनाइ प्रत्येक महिना निश्चित बजेट खर्च गर्न र सोही अनुरूप सम्बन्घित निकायको कार्यसम्पादन मल्याङ्कन गरेर बजेट व्यवस्थापनको कमजोरी हटाउन सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु ।’

चालु आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदा २५.८८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको र औसत ६० प्रतिशत बजेट अन्तिम समयमा हुने गरेको बताएका थिए ।

  • मिसन संवाददाता
  • -