प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित नभएपछि धरानका मेयर हर्क साम्पाङले ज्येष्ठ नागरिकबाट धरान उत्सव उद्घाटन गराएका छन् । धरानकी ज्येष्ठ नागरिक १०३ वर्षीया चन्द्रमाया कट्टुवालले उत्सवको उद्घाटन गरेकी छन् ।
धरान स्थापनाको १२३ वर्ष पुगेको अवसरमा आजबाट धरान उत्सव सुरू भएको हो । ५ दिनसम्म चल्ने उत्सवमा देशभरका विभिन्न पालिकालाई निम्तो गरिएको छ । सोहीक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पनि धरान आएका छन् ।
मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘धरान डे’ अतिथिका रुपमा निम्ता दिएका थिए। सुरुदेखि नै सहयोग आदानप्रदान गर्दै आएका धरान र काठमाडौंका मेयर शुक्रबार एकै मञ्चमा देखिएका हुन्।
धरान उत्सवको प्रमुख अतिथिका रुपमा आफू र उपमेयर आइन्द्रविक्रम बेघाले दिएको निम्तो अस्वीकार गरेर प्रधानमन्त्री दाहालले धरानलाई हेपेपछि कार्यकक्षबाट तस्बिर हटाइदिएको उनले बताएका थिए। साम्पाङले प्रधानमन्त्री र राष्ट्रपतिको तस्बिर हटाएर आफ्नो कार्यकक्षमा किराती राजा यलम्बरको राखेका छन्।