सर्वोच्च अदालतबाट प्रचण्डले पाए सफाई

  • मिसन संवाददाता
  • शुक्रबार, पुस २०, २०८० १६:२४
सर्वोच्च अदालतबाट प्रचण्डले पाए सफाई

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सफाइ पाएका छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठ १२ मा दर्ता गरेको उक्त मुद्दामा फैसला सुनाउँदै न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले मागदाबी नपुग्ने ठहर गरेको हो ।

द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर प्रचण्डले टिप्पणी गरेको जिकिरसहित त्रिपाठीले अवहेलना मुद्दा दायर गरेका थिए । यो मुद्दाको बहस सकिएर आजका लागि निसु तोकिएको थियो ।

द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०७३ जेठमा विवादास्पद अभिव्यक्ति दिएका थिए । लामो समयदेखि सर्वोच्चमा अड्किएको मुद्दामा गत असोजमा दुवैतर्फको बहस सकिएको थियो । २०७३ बैशाखको अन्तिम साता राष्ट्रिय सभागृहमा माओवादी कार्यकताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षडयन्त्र भएको भनी अभिव्यक्ति दिएका थिए । माओवादी विरुद्ध अदालतलाई प्रयोग गरिएको र दिँउसै रात पार्ने प्रपञ्च भएको भन्दै उनले आक्रोश पोखेका थिए ।

  • मिसन संवाददाता
  • -