कानुन बनाउने जोगिने, पालना गर्ने दण्डित : कुन मनोबल लिएर काम गर्छ प्रहरी ?

  • मिसन संवाददाता
  • शनिबार, पुस २१, २०८० १0:४0
कानुन बनाउने जोगिने, पालना गर्ने दण्डित : कुन मनोबल लिएर काम गर्छ प्रहरी ?

सिमित स्रोत र साधनलाई लिएर काम गर्नुपर्ने बाध्यताका बाबजुत पनि नेपाल प्रहरीले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउँदै आएको विगतका अपराध अनुसन्धानका घट्नाहरुले देखाउँछ ।

कुनै बेला सरकारी जागिर मध्ये मुख्य रोजाइमा पर्ने नेपाल प्रहरीको जागिर पछिल्लो समय वितृष्णा र असन्तुष्टिले भरिन थालेको छ ।यसको पुष्टि नेपाल प्रहरी विभागभित्रै जागिर छाड्नेको बढ्दो संख्याले गर्छ ।

५ वर्षको तथ्याङ हेर्ने हो भने, करिब ७ हजार प्रहरीले अवकाशको समय अगाडि नै जागिर छाडेका छन् । नछाडुन् पनि कसरी, कुन मनोबल लिएर काम गरोस् त प्रहरी ?

सेवा-सुविधा र रवाफको हिसाबले प्रहरीको जागीर नेपालमा आकर्षक नै मानिन्छ । तर, हरेक वर्ष सयौंको संख्यामा प्रहरीहरुले विभिन्न कारण देखाएर जागिर छोड्ने गरेका छन् ।

२०८० पुष १३ गते शुक्रवार इपिएस परीक्षाको विषयलाई लिएर ललितपुर बालकुमारीस्थित प्रर्दशनमा २ युवाहरुले ज्यान गुमाए । आफ्ना माग संवोधनका लागि सडकमा उत्रिएका युवाहरुले भौतिक तथा यातायात पुर्वाधार मन्त्री प्रकाश ज्वाला चढेको गाडी देखेपछि झन् आक्रोशित बने । त्यही क्रममा मन्त्रीको गाडी ती आन्दोलनरत युवाहरुले जलाइदिए ।

युवाको मृत्युसम्मको घटना प्रहरीको तत्कालिन गतिविधि भन्दा पनि सरकारी संयमता र कमी कमजोरीका कारण भएको देखिन्छ । युवाहरुले असन्तुष्टि व्यक्त गरिएको परिवेशलाई आँकलन गर्न नसक्नु प्रहरीको भन्दा पनि राजनीतिक नेतृत्वको हो भन्ने कुरालाई पटक्कै वास्ता नगरी एकाएक प्रहरी माथि दोष थोपरियो ।

बाहलवाला मन्त्री चढे्को गाडी नै आगजनी भएपछि प्रहरीले भिडलाई नियन्त्रणमा लिन कारवाही गर्‍यो । तर, ती दुई युवालाई प्रहरीले गोली हानी हत्या गरेको भनी अनुसन्धान नै नगरी फिल्डमा खटिएका तत्कालिन प्रहरीका फिल्ड कमाण्डर प्रहरी नायव उपरिक्षक र मन्त्रीका व्यक्तिगत सुरक्षा अधिकारी (पिएसओ) निलम्बनमा परे भने, ललितपुरका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख जिम्मेवारीबाट हटाइए ।

यसरी हरेक घटनाको तुरुन्तै रेस्पोन्स गर्न त प्रहरी पुग्छ । घट्ना हुन्छ, प्रहरी पुग्छ, प्रहरी कार्वाही हुन्छ । त्यसैक्रममा कुनै ठुलो मुद्धा आइहालेको खण्डमा तत्कालिन खटिने प्रहरीलाई नै निलम्बन गर्ने, बर्खास्त गर्ने, जिम्मेवारीबाट हटाउने प्रवृत्ति पछिल्लो समय बढ्दो छ ।

यस्तो अवस्थामा जोखिम मोलेर घटनास्थलमा खटिने प्रहरी कमाण्डर लगायत प्रहरी कर्मचारीलाई प्रेरणा दिनुपर्ने अवस्थामा झन उसलाई जिम्मेवारीबाट नै मुक्त गरिदिँदा उसको मनोबल आउँदा दिनहरुको घट्नामा कस्तो हुन्छ? र त्यसबाट अन्य प्रहरी अधिकृतहरुले कस्तो मनोबल लिएर कसरी काम गर्छन् ? अझ भनौँ, जो भर्खरै प्रवेश गरेकाहरु छन, उनीहरुको मनोबल के होला?

एक झुठलाई मेट्न हजारौं झुठ बोल्नुपर्छ भनेझै मन्त्री ज्वालाले आफ्नो गाडीमा आगजनी हु्ने क्रममा आफू घटनास्थलमा उपस्थित नरहेको सञ्चारमाध्यममा बताएका थिए। उनले सिंहदरबारबाट निस्किएर ग्वार्कोस्थित कान्तिपुर पार्टी प्यालेसमा जारी पार्टीको बैठकमा आफूलाई छाडेर गाडी फर्किने क्रममा युवाहरुले आगलागी गरेको बताएका थिए।

जबकि उनी सवार गाडी जल्नुअघि घटनास्थलमा ज्वालाले आक्रोशित युवाहरुसँग सवाल जवाफ गरेको सार्वजनिक भिडियोमा प्रष्टै देखिन्छ। तर उनले आफू गाडीमा नरहेको सफेद झुठ प्रतिक्रिया सञ्चारमाध्यममा दिएका छन्।

उनको असंयमताले दुई जना युवाको ज्यान जानेगरी प्रहरीले अत्यधिक बाल प्रयोग गर्न बाध्य भएको सोमबार राज्य व्यवस्था समितिको बैठकमा गृह मन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी प्रमुख बसन्तबहादुर कुँवरले स्पष्टीकरण दिइसकेका छन्।

गृहमन्त्री र प्रहरी प्रमुखले मन्त्रीको उपस्थितिले उक्त घटना निम्तिएको बताइसकेका छन्। मन्त्री अन्य रुट प्रयोग गरेर गन्तव्यस्थलमा गएको भए अनाहकमा दुई युवाले ज्यान गुमाउने अप्रिय अबस्था सिर्जना नहुने सुरक्षा निकायका प्रमुखहरुले औंल्याएका छन्।

यस अघि दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानी जहाज बनाउने कम्पनीका लागि आवेदन दिएका युवाहरुलाईे अन्य उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने सूचना ईपीएस शाखाले जारी गरेको थियो।

ईपीएस शाखाको सोही निर्णयविरुद्ध उच्च अदालत पाटनमा निवदेन दिएका १८ जना युवाहरुलाई मात्रै सहभागी गराउने अदालतको आदेश बमोजिम बाँकी अन्य परीक्षामा सामेल हुन नपाउने भएपछि युवाहरुले आन्दोलन थालेका थिए।

सोही दिन ईपीएस परीक्षामा सहभागी हुन नपाएर आन्दोलित बनेका युवाहरुको भीडमा मन्त्री ज्वालाको प्रवेशले नै परिस्थिति असहज भएको घटनाक्रमले पुष्टि गरेको छ।

अहिले सरकार चौतर्फी विवाद र आलोचित बनेको बालकुमारी घटनाको उपज मन्त्री ज्वाला रहेको तथ्य उजागर हुँदा पनि उनले राजीनामा दिएर नैतिकता प्रदर्शन गरेका छैनन्। बरु आफ्नो बचाउमा सफेद झुठ बोल्दै घटनास्थलमा नरहेको कुप्रचार गरिरहेका छन्।

यस घटनामा सुरक्षा व्यवस्था सहज बनाउन असमर्थ भएका मन्त्रीको सुरक्षागार्डका रुपमा रहेका पिएसओ र फिल्डमा खटिएका ललितपुरका डिएसपी निलम्बन गर्ने सरकारले निर्णय गरेको छ। तर मन्त्री ज्वालाबारे कुनै कदम चाल्न सकेको छैन।

ज्वालाको दल एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपालले उनको बचाउमा अभिव्यक्ति दिइरहेका छन्। उनले आन्दोलन बारे जानकारी नपाउँदा मन्त्री ज्वाला घटनास्थलमा पुगेको भन्दै बचाउमा उत्रिएका छन्।

तथापि मन्त्री ज्वालाले आक्रोशीत युवासँग बलजफ्तीपूर्ण सोही स्थानबाट निस्कने प्रयत्न गरिरहेकाे सार्वजनिक भिडियोमा देखिन्छ । तर अध्यक्ष नेपालले आफनाे दलको मन्त्री प्रकाश ज्वालाको बचाउ गर्दै सूचनाको अभावमा त्यहाँ पुगेको बताएका छन्।

प्रत्येक संवेदनशील स्थलको सुरक्षा अवस्थाको जानकारी लिएर सोही अनुरुप मन्त्रीको सवार गराउनु मन्त्री ज्वालासँग रहेका सुरक्षाकर्मीको दायित्व हो। उनीहरुले परिस्थितिको अन्दाज गरी अन्य क्षेत्रबाट सहजै सवारी लगेको भए मुडभेडको अवस्था नआएर अप्रिय परिस्थिति पार लाग्न सक्थ्यो।

पिएसओले अर्को रुट प्रयोग गरेर बाहिरिन आग्रह गर्दागर्दै मन्त्री ज्वालाले सोही क्षेत्रबाट सवारी लग्न चालक र सुरक्षाकर्मीलाई ठाडो निर्देशन दिएर बाध्य पारेको बताइन्छ।

  • मिसन संवाददाता
  • -