सुदूरपश्चिम माओवादीमा एक्लिदै खगराज भट्ट

  • मिसन संवाददाता
  • शनिबार, पुस २१, २०८० १४:0१
सुदूरपश्चिम माओवादीमा एक्लिदै खगराज भट्ट

सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने माओवादी केन्द्र संसदीय दलभित्र आपसी किचलो बढ्दै गएको छ । सभामुखसहित ११ सदस्य रहेको संसदीय दलमा दलका नेता खगराज भट्टसहितका चार जना सांसद एकातर्फ देखिएका छन् भने सभामुख भीम बहादुर भण्डारीसहित सात सांसदहरू फरक कित्तामा उभिएका छन् ।

फरक कित्तामा रहेका सांसदहरू दलका नेता भट्ट र सरकारमा रहेका मन्त्रीहरूले नेतृत्व गर्न नसकेको दावी गर्दै मन्त्री फेरबदल गर्नुपर्ने माग गरिरहेका छन् । यही कारण माओवादी सांसदहरूबीचको दुरी बढ्दै गएको छ ।

फरक कित्तामा उभिएका सभामुखसहित सात जना सांसदहरूले शनिबार विहान माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटर सुदूरपश्चिममा संसदीय दलका नेताले कूशल नेतृत्व गर्न नसकेको र सरकारमा रहेका मन्त्रीहरूको कार्यक्षमता कमजोर देखिएकाले फेरबदल गर्न आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेशका सभामुख भीम भण्डारी, प्रमुख सचेतक मानबहादुर धामी, राज्यमन्त्री गीता मालसहित सात जना प्रदेश सभा सदस्यहरूले प्रधानमन्त्रीलाई सुदूरपश्चिम सरकार हेरफेर गर्न आग्रह गरेका हुन् । भण्डारी, धामी र मालसहित माओवादीका सांसद अक्कल रावल,ओम विक्रम भाट सरल,शिवसिंह ओली र लक्ष्मी विकसहितले सरकारको काम प्रभावकारी नभएको गुनासो गरे ।

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीको तर्फबाट २ मन्त्री र १ राज्य मन्त्री छन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा रमेश धामी र सामाजिक विकास मन्त्रीमा झपट साउद छन् । राज्य मन्त्री गीता माल हुन् । शनिवार दुई मन्त्री र बाँकी २ सांसद बाहेक सबैले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै माओवादीले सरकारको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका थिए ।

  • मिसन संवाददाता
  • -