ओली जता पनि माग्दै हिंडे : पौडेल

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १२:५६
ओली जता पनि माग्दै हिंडे : पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले लिनमात्रै खोजेको टिप्पणी गरेका छन् । एमालेलाई संसदीय समितिको सभापतिमा सहमतिअनुसार आफूहरुले दिएको बताउँदै नेता पौडेलले राष्ट्रिय सभा निर्वाचनमा पनि ओली लिन तयार भएको तर आफूले दिन पर्ने ठाउँमा दिन तयार नभएको बताएका हुन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले कतिपय ठाउँमा संवाद र सहकार्यका लागि वातावरण बनाउन खोज्दा एमालेले लिनमात्रै खोजेको टिप्पणी गरे ।

‘संसदीय समितिको सभापतिमा हामीले सहमतिअनुसार गर्यौं । एउटा पनि नदिएको भएपनि हुन्थ्यो । तर, हामीले दियौं । कतिपय ठाउँमा मिलेर जाउँ, सहकार्य गरौं, टिआरसी लगायत ४० वटा कानुन बनाउनु छ हामीले । सबैले मिलेर गर्नु राम्रो हुन्छ भनेर हामीले यो विषयमा छलफल गर्न खोजेको हो ।’ उनले भने, ‘लिन चाहीँ सबैतिर माग्दै हिँड्ने, मलाई यति चाहिन्छ, उति चाहिन्छ । सहकार्य गर्ने, राज्यका कतिपय महत्वपूर्ण विषयमा मिलेर जाने, आफूले कन्ट्रिव्यूट गर्ने ठाउँमा पनि त तयार हुनुपर्यो नि ? त्यसमा उहाँ (केपी ओली) तयार हुनुभएन । सहमति भनेको लेनदेन हो । एक हातले लिने, अर्को हातले दिने हो । लिन तयार हुनेले दिन पनि तयार हुनपर्यो नि ?’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग ओलीले ९ सिट मागेको उनले बताए । उनले ५÷६ सिटमा एमाले तयार नभएको बताए । टिआरसी विधेयकलाई लिएर एमालेले बार्गेनिङ गरेको उनको भनाइ छ । टिआरसी मुद्दा एमालेको पनि भएको बताउँदै उनले टिआरसी विधेयक पारित गर्नु एमालेको पनि दायित्व भएको बताए । माओवादीको समर्थनमा आफू प्रधानमन्त्री बनेको कुरा ओलीले बिर्सन नहुने उनको भनाइ छ ।

  • मिसन संवाददाता
  • -