राष्ट्रियसभामा रोचकुमारी चौलागाईंसहित बागमतीमा एमालेका ४ उम्मेदवार

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १५:३९
राष्ट्रियसभामा रोचकुमारी चौलागाईंसहित बागमतीमा एमालेका ४ उम्मेदवार

नेकपा एमालेले बागमती प्रदेशबाट राष्ट्रियसभाका उम्मेदवारको टुंगो लगाएको छ । उम्मेदवारी मनोनयन दर्ता हुनु अघिल्लो दिन आइतबार एमालेले उम्मेदवार टुंग्याएको हो ।

दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेललाई राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने एमालेले निर्णय गरेको हो । रोचकुमारी चौलागाईं दिवंगत एमाले नेता पशुपति चौलागाईंकी भाई बुहारी हुन्।

११ माघमा राष्ट्रियसभाका १९ सिटका लागि चुनाव हुँदै छ । नेकपा एमालेको प्रतिस्पर्धा सत्ता गठबन्धनका उम्मेदवारसँग हुनेछ । राष्ट्रियसभामा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमु्ख तथा उपप्रमुखले मतदान गर्न पाउँछन् । प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ तोकिएको छ ।

बागमतीमा एमालेभन्दा सत्ता गठबन्धनको मतभार निकै बढी रहेको छ । सत्ता गठबन्धनमा सिटको बाँडफाँटमा सहमति जुटे पनि उम्मेदवार भने टुंगिएको छैन ।

  • मिसन संवाददाता
  • -