राष्ट्रियसभामा झक्कु सुवेदी : जिविस सभापति छाडेर जनयुद्धमा, पहिलो चुनाव मै माधव नेपाल हराए !

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० 0९:४५
राष्ट्रियसभामा झक्कु सुवेदी : जिविस सभापति छाडेर जनयुद्धमा, पहिलो चुनाव मै माधव नेपाल हराए !

आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। देशका सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभाका २० सिटको पदावधि आगामी फागुन २० गते सकिँदैछ। ६ वर्षे कार्यकाल सकिएर रिक्त हुन लागेका राष्ट्रियसभाका २० सिटमा निर्वाचन हुन लागेको हो। आयोगका अनुसार आज मनोनयन दर्ता हुने उम्मेदवारीविरुद्ध पुस २४ गते दाबी, विरोध तथा उजुरी गर्न सकिने छ। पुस २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुने आयोगले जनाएको छ।

पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ। सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ। राष्ट्रियसभामा सत्ता गठबन्धले संयुक्त रुपमा उम्मेदवारी दिने तयारी गरेका छन् भने एमाले एक्लै चुनाव लड्ने अवस्थामा छ।

नेकपा माओवादीले केन्द्रले राष्ट्रिय सभा उम्मेदवार तय गरेर सम्बन्धित प्रदेश पठाई सकेको छ। सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादीको भागमा सोही पार्टीबाट रिक्त ३ सहित ६ सिट परेको छ। माओवादीले सबै जनयुद्धकालीन नेतालाई उम्मेदवार बनाएको छ। जसमा दुई जना युद्धमा घाइते भएका छन्। माओवादीले चम्पा कार्की, श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णु विक र रेणु चन्दलाई उम्मेदवार बनाएको छ। यीमध्ये झक्कु सुवेदी र रेणु चन्द पहिलो संविधान सभामा निर्वाचित भएका थिए।

झक्कु सुवेदी तीनै हुन् जसले २०६४ चैत २८ को पहिलो संविधानसभाको चुनावमा तत्कालीन नेकपा (एमाले) का तत्कालीन महासचिव माधव नेपाललाई हराएर ‘जाइन्ट किलर’ को उपमा पाएका थिए । काठमाडौं – २ मा खसेको ३७ हजार ७२७ मतमा सुवेदीले १३ हजार ८५८ मत ल्याएका थिए । माधव नेपाल १२ हजार ३२५ मतमा रोकिएका थिए । दुईजनाको अन्तर १ हजार ५३३ थियो । सुवेदी २०४९ मा रोल्पा जिविस सभापतिसमेत भएका थिए । तत्कालिन अवस्थामा सभापति जितेका विरजंग शाही जनयुद्धमा सामेल भएनन् । सुवेदी जनयुद्धमा सामेल हुने एकमात्र जिविस सभापति थिए ।

सुवेदीका प्रतिद्वन्दी एमालेबाट पाल्पाका झपेन्द्र जीसी छन् । पाल्पाका जीसी पनि पूर्वजिविस सभापति हुन् । जिसी एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन् । उनी उपाध्यक्ष विष्णु पौडेल निकट मानिन्छन् ।

मतभारमा स्पष्ट बहुमत रहेको सत्तारुढ गठबन्धनमा जित निश्चित भएकाले पनि उम्मेदवारहरुको बढ्दो चाख भएको नेताहरू बताउँछन् । प्रदेशमा कुल मतभार ८७५३ मा एमालेको २८१० मतभार हुँदा कांग्रेस एक्लैको ३१७९ मतभार रहेको छ । माओवादी १३४३, जसपा २७३, लोसपा २३५, जनमत १५९, नागरिक उन्मुक्ति २१२, नेकपा एस ५३, राजमो १२९ र गठबन्धनमा नरहेको राप्रपाको २६९, जनता प्रगतिशीलको ३८ र स्वतन्त्रको ५३ मतभार छ । त्यस कारण पनि गठबन्धनमा सामान्य खटपटले पनि निर्वाचन परिणाम तलमाथि हुने अवस्था देखिँदैन ।

  • मिसन संवाददाता
  • -