बंगलादेशको चुनावमा शेख हसिना विजयी, लगातार चौथोपटक प्रधानमन्त्री बन्दै

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० ११:३५
बंगलादेशको चुनावमा शेख हसिना विजयी, लगातार चौथोपटक प्रधानमन्त्री बन्दै

१५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकालका लागि पनि पदमै रहने भएकी छन्। शेख हसिनाको पार्टी अवामी लिग र उसका सहयोगीले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितेका हुन्। उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन भने स्थगन गरिएको छ।

देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश नेसनलिस्ट पार्टी र उसका सहयोगीले भने यो निर्वाचन बहिष्कार गरेका छन्। यस कारण बाँकी सिट पनि शेख हसिनाको पार्टी र उसका सहयोगीले जित्ने अपेक्षा गरिएको छ।

बीएनपीले मतदान देखावटी मात्र भएको आरोप लगाएको छ। आइतबारको नतिजा बीएनपीका नेता र उनीहरूका समर्थकको सामूहिक गिरफ्तारीपछि आएको हो।

निर्वाचनको नतिजा आज औपचारिक रूपमा घोषणा हुने बताइएको छ। आधिकारिक तथ्यांकले मतदान निकै कम भएको र करिब ४० प्रतिशत मात्रै मतदान भएको देखाएको छ। आलोचकहरूले यो तथ्यांक पनि बढाइचढाइ गरिएको दाबी गरेका छन्।

स्वतन्त्र उम्मेदवारले ४५ सिट जितेका छन्। यी स्वतन्त्र पनि अवामी लिगकै रहेको बताइएको छ। जातीय पार्टीले ८ सिट जितेका छन्। पहिलोपटक सन् १९९६ देखि २००१ सम्म बंगलादेशको प्रधानमन्त्री बनेकी शेख हसिनाको यो कूल पाँचौँ र लगातार चौथो कार्यकाल हो।

  • मिसन संवाददाता
  • -