पृथ्वी जयन्तीको चियापानमा ८ हजारलाई निम्तो

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० १२:४0
पृथ्वी जयन्तीको चियापानमा ८ हजारलाई निम्तो

राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ।

उक्त कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मी, बुद्धिजीवी लगायत ८ हजार जनालाई निमन्त्रणा गरिएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।

विभिन्न राज्यलाई एकीकृत गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेका ‘राष्ट्र निर्माता’को सम्मानमा हुने चियापान समारोहमा विशिष्ट व्यक्तिहरु सहभागी हुने प्रवक्ता श्रेष्ठको भनाइ छ। सोही दिन पार्टीले सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रम गर्नेछ। भृकुटीमण्डपमा भेला भइ अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भद्रकाली हॅुदै सिंहदरबार अगाडि रहेको पृथ्वी शालिकसम्म ऱ्याली र शालिकमा माल्यार्पण हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

पृथ्वी जयन्तीलाई एकता दिवस र उत्सवका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समिति समेत गठन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

  • मिसन संवाददाता
  • -