पार्टीको झोला बोक्नेले त्रिविको उपकुलपति हुन नपाउने

  • मिसन संवाददाता
  • मङ्लबार, पुस २४, २०८० 0९:१0
पार्टीको झोला बोक्नेले त्रिविको उपकुलपति हुन नपाउने

कुनै पनि राजनीतिक दलको सदस्यता लिएको व्यक्तिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन नपाउने भएको छ । त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार उपकुलपतिको आवेदन दिन कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने व्यवस्था रहेको छ ।

उपकुलपति सिफारिस समितिले आजदेखि १५ दिनको म्याद दिँदै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । जसमा आवश्यक न्यूनतम योग्यतामा दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको, प्रचलित कानुन बमोजिम स्थापित विश्वविद्यालयको प्राध्यापक पदमा नियुक्त भई सो पदको अनुभव हासिल गरेको, प्रचलित कानुन बमोजिम सार्वजनिक पदमा नियुक्तिको लागि अयोग्य नरहेको, त्रिविसँग कुनै स्वार्थ नबाझिएको र नेपाली नागरिक हुनुपर्नेछ ।

सार्वजनिक पदमा नियुक्तिका लागि अयोग्य नभएको र हाल कुनै राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा पत्र, त्रिविसँग कुनै स्वार्थ नबाझिएको ब्यहोरा खुलेको स्वःघोषणा पत्र समेत समावेश गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

उम्मेदवारले पेश गरेको शैक्षिक योग्यता तथा अनुभव, पुस्तकको प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर), त्रिविको चार वर्षे व्यावसायिक कार्ययोजना (प्रोफेसन वर्क प्लान) सोको प्रस्तुतीकरण तथा अन्तर्वार्ता वापतको मूल्यांकन र अंकभार १०० पूर्णाकलाई आधार मानेर छनोट गरिनेछ ।

प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । सोही आधारमा सरकारले शिक्षामन्त्रीको संयोजत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

  • मिसन संवाददाता
  • -