राष्ट्रिय सभा निर्वाचनमा आफ्ना १९ उम्मेदवारलाई जिताउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनका सात दलका अध्यक्षले अपिल गरेका छन्। आइतबार प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राजमो अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर सहित अपिल गरेका हुन्।
‘राष्ट्रिय सभाको निर्वाचन सम्पन्न हुँदैछ। निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्। राष्ट्रिय सभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्छन्। यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो। तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ’, अपिलमा भनिएको छ।
अपिलमा नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले राजनीतिक गठबन्धन निर्माण गरेको दाबी गरिएको छ। भनिएको छ, ‘देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याय प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो। देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्वसर्त हो। लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि प्रतिबद्ध छौं र सदैव निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौं।’
माघ ११ गते हुने निर्वाचनका लागि गठबन्धनका तर्फबाट कृष्णप्रसाद सिटौला, चम्फादेवी कार्की, आनन्दप्रसाद ढुंगाना, पूजा चौधरी, विष्णुदेवी पुडासैनी, जीतजंग बस्नेत, श्रीकृष्णप्रसाद अधिकारी, घनश्याम रिजाल, मनरुपा शर्मा, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, बलदेव बोहरा, नारायणदत्त भट्ट उम्मेदवार छन्।