तेश्रो पटक बंगलादेशसँग भिड्दै नेपाल

  • मिसन संवाददाता
  • बुधबार, माघ १७, २०८० 0९:0८
तेश्रो पटक बंगलादेशसँग भिड्दै नेपाल

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाल आज (बुधबार) बंगलादेश भिड्दै छ।

सुपर सिक्स अन्तर्गत मंगलबार भएका खेलमा भारत र पाकिस्तान विजयी भएसँगै सेमिफाइनल पुग्ने दौडबाट बाहिरिइसकेको नेपालको यो प्रतिस्पर्धा केवल प्रतिष्ठा र शक्ति परीक्षणका लागि हुनेछ।

नेपाल र बंगलादेशबीच सुपर सिक्सको पहिलो खेल ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा दिउँसो पौने २ बजे सुरु हुनेछ। समूह ‘डी’ मा रहेको नेपालले समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै तेस्रो स्थानमा रहेर सुपर सिक्समा स्थान पक्का गरेको थियो।

सुपर सिक्समा नेपाल अंकविहीन रुपमा खेल्दै छ। सुपर सिक्समा प्रवेश नगरेको अफगानिस्तानलाई हराएका कारण यस खेलबाट नेपालको अंक जोडिने छैन। यद्यपि नेपालको नेट रनरेट भने जोडिनेछ।

नेपालले सुपर सिक्सको दोस्रो खेलमा समूह ‘ए’को विजेता भारतसँग शुक्रबार खेल्ने तालिका छ। सुपर सिक्समा आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यही स्थानको टोलीसँग खेल्नु नपर्ने कारण नेपालले भारत र बंगलादेशसँग मात्रै खेल्न लागेको हो।

आईसीसी यू–१९ विश्वकपमा नेपाल र बंगलादेश तेस्रो पटक भिड्न लागेका हुन्। यसअघि भएका दुई भेटमा नेपाल र बंगलादेशले समान १/१ पटक जितका छन्। यी दुई टोली ८ वर्षपछि भेट हुन लागेका हुन्। यसअघि सन् २०१६ मा बंगलादेशमा नै भएको खेलको क्वार्टरफाइनलमा नेपाल ६ विकेटले पराजित भएको थियो।

त्यसअघि सन् २००२ मा भएको विश्वकपमा नेपालले बंगलादेशलाई २३ रनले हराएको थियो।

  • मिसन संवाददाता
  • -