रेडियो नेपाल र नेपाल टिभीलाई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गर्न सरकारले तयारी गरिरहेको छ : प्रधानमन्त्री

  • मिसन संवाददाता
  • बुधबार, माघ १७, २०८० ११:४२
रेडियो नेपाल र नेपाल टिभीलाई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गर्न सरकारले तयारी गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारण संस्था बनाउने सम्बन्धमा संसदमा विचाराधिन रहेको विधेयकमा समयानुकूल परिमार्जन सहित पारित गर्ने गरी तयारी सरकारले गरिरहेको बताउनुभएको छ ।

नेपाल टेलिभिजनको ३९ औ वार्षिकोत्सवका उपलक्ष्यमा आज टेलिभिजन परिसरमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा सकारात्मक प्रभाव राख्ने र सही विश्लेषणसहित सार्वजनिक सेवा प्रसारण संस्था बनाउने योजनाको सङ्कल्प तयार गर्न नेपाल टेलिभिजन र रेडियो नेपाललाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारले सरोकारवाला पक्षको सहभागितामा आमसञ्चार सम्बन्धी विधेयकको मस्यौदा गर्ने काम गरिरहेको भन्दै सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरू नियन्त्रणका लागि नभई नियमन र व्यवस्थापनका लागि भएको समेत स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रको प्रविधिमा आएको परिवर्तन अनुसार समयानुकूल बनाउनुपर्ने भन्दै अबको डिजिटल युगमा नेपाल टेलिभिजनले पनि आफ्ना उत्पादन र प्रसारणलाई त्यसतर्फ स्थापित गर्न ढिला गर्न नहुनेमा जोड दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले टेलिभिजनको अबको आवश्यकता र आम दर्शकको रुचि अनुसारका विषयवस्तुमा आफूलाई केन्द्रित गरी संस्थाको विकासका लागि नयाँ र दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नु पर्नेमा जोड समेत दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण र कानुनी तथा व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेकोसमेत बताउनुभयो ।

facebook sharing button Share

  • मिसन संवाददाता
  • -