विमानस्थलमा भकुर्ने र भकुरिने दुवैलाई हटाउन सिफारिस

  • मिसन संवाददाता
  • बिहिबार, माघ १८, २०८० 0८:४९
विमानस्थलमा भकुर्ने र भकुरिने दुवैलाई हटाउन सिफारिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र कर्मचारीबीच भएको कुटाकुटको घटनाको छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ ।

गत शुक्रबार विमानस्थलमा जाँच गर्ने क्रममा प्रहरी र अध्यागमनका कर्मचारीबीच कुटाकुट भएको थियो । विमानस्थलमा कार्यरत प्रहरी र कर्मचारीबीच कुटाकुट भएपछि १२ माघमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित छानबिन समितिमा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए ।

उक्त छानबिन समितिले बुधबार मन्त्रालयमा प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनमा विमानस्थलमा कार्यरत असई संजय तामाङलाई निलम्बनको सिफारिस गरिएको स्रोतले जानकारी दिएको छ । यसका साथै समितिले अध्यागमन अधिकृत छायाँलाल मोक्तानलाई पनि विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ ।

स्रोतका अनुसार मोक्तालाई विमानस्थलबाट मन्त्रालय तानेर आचरणको कारबाही गर्न सिफारिस गरेको छ । त्यस्तै प्रहरी जवानद्वय रवि रञ्जन गुप्ता र राजकुमार महतोलाई पनि समितिले विभागीय कारबाहीको सिफारिस गरेको छ भने डीएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन भनिएको छ ।

  • मिसन संवाददाता
  • -