दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी

  • मिसन संवाददाता
  • बिहिबार, माघ १८, २०८० ११:२५
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी

काठमाडौं- ईपिएस प्रणालीमार्फत नेपाली कामदार लैजाने गरेको दक्षिण कोरियाले इ-सेभेन (E-7) भिषामार्फत पनि नेपाली दक्ष कामदारको माग गरेको छ । इ सेभेन भिषामार्फत दक्षिण कोरिया नेपाली कामदार पठाउने विषयमा सरकारले छलफल अघि सारेको छ ।

इ सेभन भिषा भनेको कुनै निश्चित क्षेत्रमा विशेषज्ञता वा प्राविधिक सिप हासिल गरेका दक्ष कामदारहरुलाई दिइने भिषा हो । कोरियाले इ सेभेन भिषा अन्तरगत निजी क्षेत्र अर्थात (बिटुबी) मार्फत कोरियाले दक्ष कामदार लैजाने छ ।

नेपालले इ सेभेन भिषा खुला गरेमा निजी क्षेत्रका मेनपावर कम्पनीहरुले नेपाली दक्ष कामदारलाई कोरिया पठाउने छन् । इ सेभेन भिषामा पारिश्रमिक तथा सेवा सुविधा निकै राम्रो भएका कारण यो भिसामा जतिसक्दो ठूलो संख्यामा नेपाली कामदार पठाउन सरकारले पहल गरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँग थप छलफल गरेर अघि बढ्ने तयारी मन्त्रालयको छ । मन्त्रालयका अनुसार अहिले कोरियाले इ सेभेन भिषामार्फत बर्षेनि दश हजार बढी दक्ष नेपाली कामदारको माग गरेको छ ।

कोरियाले विशेष गरी इलेक्ट्रोनिक्स, मेकानिकल इन्जिनियरिङ, हार्डवेयर र सफ्टवेयर विकास, केयर गिभर/हस्पिटालिटी लगायत विभिन्न क्षेत्रमा विशेषज्ञता भएका व्यक्तिहरूलाई इ सेभेन भिषा दिने गरेको छ ।

इ सेभेन भिषामा जाने कामदारले परिवार पनि सँगै लैजान पाउने व्यवस्था रहेको छ । यस्तो भिसा अवधि सुरूमा तीन वर्ष र विशेष अवस्थामा पाँच वर्षसम्म हुनेछ भने करार अवधि पनि असीमित हुने मन्त्रालयले जनाएको छ ।

यो भिषामा न्यूनतम पारिश्रमिक करिब चार लाख नेपाली रूपैयासम्म हुनेछ । यस्तै यो भिषामा अन्य सेवा सुविधासहित बीमा लगायत सुविधा पनि रोजगारदाताले उपलब्ध गराउने व्यवस्था छ ।

कोरियाले सन् २०२२ देखि नै प्राविधिक पेशामा काम गर्ने आप्रवासी कामदारहरुको कोटा बढाउने नीति लिएको छ । जसअनुसार पानीजहाज निर्माणका लागि वेल्डर, चित्रकारलगायत व्यवसायिक सिप हासिल गरेका कामदारको कोटा बढाएको हो । कोरियाले इ सेभेन भिषामा बंगलादेश, फिलिपिन्स लगायत अन्य मुलुकबाट कामदारहरु लैजाने गरेको छ ।

  • मिसन संवाददाता
  • बिहिबार, माघ १८, २०८० ११:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट