एमाले दोलखा अधिवेशन : कुन पदमा कसले ढ्वांग थाप्दै ?

  • मिसन संवाददाता
  • शनिबार, माघ २०, २०८० २0:२८
एमाले दोलखा अधिवेशन : कुन पदमा कसले ढ्वांग थाप्दै ?

तीन दिनपछि सरेको नेकपा (एमाले) दोलखाको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। यसअघि एमाले दोलखाको दशौं जिल्ला अधिवेशन यही माघ १९, २० र २१ गते सम्पन्न गर्ने निर्णय भएकोमा तीन दिन पछि सरेर २२, २३ र २४ गते पुगेको थियो ।

अधिवेशनको प्रतिनिधि छनोटको काम सम्पन्न भैसकेको छ। नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनमा ६ सय जना भन्दा धेरै प्रतिनिधिहरु सहभागी हुने भएका छन् । अधिवेशनमा सबै भन्दा वढि भूगोलबाट ४ सय ५० जना प्रतिनिधि सहभागि हुने नेकपा एमाले दोलखाको प्रतिनिधि छनौट उपसमितिका संयोजक राजेन्द्र मानन्धरले जानकारी दिए। उनका अनुसार जनसङ्गठनबाट ५० जना, उत्पिडित समुदायबाट ५० जना, सल्लाहकार परिषद्बाट २५ जना तथा सम्पर्क मञ्चबाट २१ गरी ५ सय ९६ जनाले प्रतिनिधिको रुपमा अधिवेशनमा भाग लिनेछन् भने कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात ३० जना अधिवेशन आयोजक कमिटीले मनोनित गर्न पाउनेछ । मनोनित सहित ६ सय २६ जना अधिवेशनमा प्रतिनिधि सहभागि हुने नेकपा एमाले दोलखाले जनाएको छ ।

अधिवेशन नजिकिएसंगै अत्याधिक चिसो चरिकोटको मौसम एकाएक गर्माएको छ । दोलखामा क्रियाशील परम्परागत दुई गुट आफ्नो प्यानलको रोस्टर तयार पार्न कस्सिएका छन् । दोलखामा पार्टीका पोलिटब्युरो सदस्यहरु पार्वत गुरुङ्ग र आनन्द पोखरेलका दुई छुट्टाछुट्टै गुट सक्रिय रहेको बताईन्छ । प्रतिनिधिसभाको निर्वाचनपछि जबर्जस्त रुपमा देखिएको बालकृष्ण शिवाकोटीको समूहले छुट्टै अस्तित्व देखाउँछ कि परम्परागत गुटमा मिसिन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

हाम्रो मिसनलाई दोलखा एमालेका एक तन्नेरी नेताले उपलब्ध गराएको सुची अनुसार दुवै समूह आफ्नो प्यानलको रोस्टर तयार गरेर वार्मअप गरिरहेका छन् । दोलखा एमालेको अध्यक्षका लागि नरबहादुर श्रेष्ठ, इश्वरचन्द्र पोखरेल र भरत दुलालको त्रिपक्षिय प्रतिष्पर्धा हुने लगभग पक्कापक्की भएको छ ।

एक कार्यकाल मेलुङ्ग गाउँपालिकाको अध्यक्ष भएर काम गरेका श्रेष्ठ गत प्रदेशसभा निर्वाचनमा भने कांग्रेसका कुन्दनराज काफ्लेसंग १५३६० मत ल्याएर पराजित भएका थिए । पार्वत गुरुङ्गको समूहबाट उनी अध्यक्षका प्रत्यासी हुन् । अध्यक्षका अर्का दाबेदार पुर्वअध्यक्ष इश्वरचन्द्र (आईसी) पोखरेल भएको बताईन्छ । उनी तामाकोशी गाउँपालिकाका पुर्व अध्यक्ष (जनप्रतिनिधि) पनि हुन् । निकटताको हिसाबले आनन्द पोखरेलसंग नजिक मानिन्छन। अध्यक्षकै लागि एक पटक यसै पटक भनेर शैलुङ्ग गाउँपालिका अध्यक्ष भरत दुलालले पनि उम्मेद्वारी घोषणा गरिसकेका छन् । उनी नेकपा (एमाले) का पुर्व सचिव हुन् ।

केहि समयअघिसम्म सचिवमा चर्चा चलेका राजेन्द्र मानन्धर उपाध्यक्ष मै दोहोरिने भएका छन् । उनी पार्वत समूहमा छन् । अहिले सचिव रहेका हिरा थोकरले आनन्द पोखरेल समूहबाट उनलाई उपाध्यक्षमा टक्कर दिनेछन । मानन्धर कान्तिपुर दैनिकको उपल्लो तहमा बसेर काम गरेका पुर्व पत्रकार हुन् भने थोकर हाल मेलुङ्ग गाउँपालिकाका अध्यक्ष (जनप्रतिनिधि) हुन् ।

सचिवका लागि पार्वत गुरुङ्गको समूहबाट गौरीशंकर गाउँपालिका अध्यक्ष स्वयम् खड्का लगभग पक्कापक्की भएका छन् । आनन्द पोखरेलको समूहबाट होम पाठक र कृष्ण बस्नेतको रस्साकस्सी चलिरहेको बताईन्छ । दुवै प्रदेशसभा (ख) का हुन् ।

२ उपसचिवका लागि भने थुप्रै आकांक्षी देखिएका छन् । महिला उपसचिवका लागि पार्वत गुरुङ्गको समूहबाट कमला बस्नेतको नाम तय भैसकेको छ भने आनन्द पोखरेलको समूहबाट गायत्री आचार्य र गोमा केसी मध्ये एकजनाको सम्भावना छ । बस्नेत दुई कार्यकाल भिमेश्वर नगरपालिकाको उपमेयर भैसकेकी छन् । आचार्य हाल मेलुङ्ग गाउँपालिकाको उपाध्यक्ष हुन् भने केसी बिगु गाउँपालिकाको पुर्व जनप्रतिनिधि हुन् ।

उपसचिवकै लागि आनन्द पोखरेलको समूहबाट रेशम राजश्वराज रिमाल पक्कापक्की भएको बुझिन्छ । उनी बैतेश्वर ७ का पुर्व वडाध्यक्ष हुन् । पार्वत गुरुङ्गको समूहबाट उपसचिवमा हालका उपसचिव सुन्दर कार्की र धिरज सुवेदी मध्ये एक जना अघि सार्न खोजेको बुझिन्छ । उपसचिवकै लागि पुर्व जिल्ला समन्वय समिति सदस्य बिदुर शर्माले पनि तयारी गरेको बुझिन्छ । जिल्ला अधिवेशनको मिति नजिकिंदै जाँदा उम्मेदवारहरुको नाम झन् झन् प्रष्ट हुँदै गएको देखिन्छ ।

सम्बन्धित समाचार : एमाले दोलखाको घर्किँदो जिल्ला अधिवेशन : कसरी हुँदैछ पदको पँजनी ?

  • मिसन संवाददाता
  • -