लुटेराहरुलाई छाड्ने कुरा हुँदैन : गृहमन्त्री

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० 0९:१४
लुटेराहरुलाई छाड्ने कुरा हुँदैन : गृहमन्त्री

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, जालसाजी र ठगीविरुद्धको कारबाहीमा कुनै दबाबमा नपर्ने बताएका छन् ।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि शनिबार पोखरा पुगेका श्रेष्ठले निर्दोष व्यक्तिहरु कारबाहीमा नपरुन् भनेर सचेत हुने तर भ्रष्टाचार, जालसाजी ठगी र संगठित अपराधमा संलग्न कसैलाई पनि दबाबका आधारमा नछाड्ने बताएका हुन् ।

‘…देशलाई यथास्थितिमा रहन दिन्नौं भन्ने कुरा सबैले बुझ्दा हुन्छ । सधैं हजुर तपाईहरु लुटिराख्नुस्, हामी सहयोग गरिराख्छौं भन्ने पक्षमा सरकार छैन’, उनले भने, ‘ देश बर्बाद हुदै जाओस्, भ्रष्टाचार पनि बढ्दै जाओस् त्यसको निम्ति हामी पनि सेवा गर्न पाऔं भनेर रातो कार्पेट बिच्छ्याउने पक्षमा छैनौं ।’

उपप्रधानमन्त्री श्रेष्ठले अगाडि भने, ‘एक जना पनि निर्दोषलाई अनावश्यक रुपमा दुःख दिने वा उनीहरुलाई डाम्ने काम गर्ने छैनौं । कोही दोषीलाई कुनै प्रकारको दबाबका आधारमा छाड्ने काम सरकारले गर्दैन ।’

दोषी जुनसुकै प्रकृति र समुदायको भए पनि कानुनको नजरमा समान छन् भन्ने स्थापित गर्ने उनले बताए । ‘लुट्ने एउटाले, जालसाजी, किर्ते र ठगी गरेर राज्यलाई लुट्ने अनि त्यो लुट्नेहरु कानुन स्थापित गर्दा आतंकित भयो भने… हुनुपर्‍यो नि, अब लुट्न हुन्न रहेछ भन्ने वातावरण निर्माण गर्नुपरेन ?’ उपप्रधानमन्त्री श्रेष्ठले भने ।

  • मिसन संवाददाता
  • -