संसद्को हिउँदे अधिवेशन आजदेखि : क्यालेन्डरमा संसद चलाउने तयारी

  • मिसन संवाददाता
  • सोमवार, माघ २२, २०८० 0९:५६
संसद्को हिउँदे अधिवेशन आजदेखि : क्यालेन्डरमा संसद चलाउने तयारी

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सञ्चालन हुँदैछ । हिउँदे अधिवेशन संसदको विधेयक अधिवेशन हो । विधेयक अधिवेशन सञ्चालनको सम्पूर्ण तयारी पूरा भइसकेको संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।

सदन अनुगमनको क्रममा सभामुख घिमिरेले विधेयक अधिवेशनलाई प्रभावकारी बनाइने बताए । यसका लागि बैठका कार्यतालिकाअनुसार सञ्चालन हुने र यसलाई प्रभावकारी बनाइने सञ्चारकर्मीहरूलाई उनले जानकारी दिए ।

सभामुख घिमिरेले सरकारले बिजनेसको कमी हुँदैन भनेर आफूलाई स्पष्ट पारेको उनको भनाई छ । सहायक प्रवक्ता दशरथ धमलाका अनुसार सदनमा हाल २४ वटा विधेयक छ । जसमध्ये तीनवटा विधेयक राष्ट्रिय सभामा र बाँकी रहेको २१ विधेयक प्रतिनिधिसभामा छन् ।

यीमध्ये एक दर्जन बढी विधेयक समितिमा छलफलको क्रममा छन् । संसद् र सांसदलाई लाग्ने आरोप भनेको व्यवस्था बलियो बनाउने कानुन बनाउन नसकेको भन्ने हो । राष्ट्रिय सभाकै विषयगत समितिले अध्ययन गरेर वर्तमान राज्य सञ्चालन व्यवस्था र संविधानको पूर्ण कार्यान्वन गर्ने हो भने १ सय ८० कानुन बनाउनुपर्ने हुन्छ ।

यसपटक सदन चलाउन क्यालेन्डर तयार भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले राष्ट्रिय सभाको क्यालेन्डर फाइनल गरेको छ । यही क्यालेन्डरअनुसार सदन चल्ने सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

प्रतिनिधिसभाले पनि क्यालेन्डरअनुसार बैठक चलाउने बताइसकेको छ । यसका लागि कार्य व्यवस्था परामर्श समितिमा छलफल भइरहेको छ । सभामुख देवराज घिमिरेका संसद् क्यालेन्डरअनुसार चलाउनुपर्नेमा आफूहरू रहेको बताए ।

यता सरकारले पनि संसदमा प्रथामिकता साथ ६३ वटा विधेयक सदनमा लैजाने तयारी गरेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको कानुन तर्जुमा महाशाखाका सहसचिव मानबहादुर अर्यालले अनुसार ६३ विधेयक पहिलो प्राथमिकतामा परेको बताए ।

सरकारले हिउँदे अधिवेशनबाट संघीयता कार्यान्वयनसम्बन्धी विधेयकलाई पनि सदनमा लैजाने भएको छ । जसमा प्रदेश सरकालाई अधिकार दिन र यसमाथि उठेका प्रश्न मत्थर गर्ने गरी विधेयक दर्ता हुँदै छन् ।

विशेष गरेर कर्मचारी प्रशासन तथा प्रहरी समायोजन ऐनलाई हिउँदे अधिवेशनमा सदनमा पेस गरेर कानुन निर्माण कार्यलाई अघि बढाउने तयारीमा जुटेको कानुन मन्त्रालयले जानकारी दियो ।

  • मिसन संवाददाता
  • -