ट्याक्सीमाण्डुमा अब बाइक सेवा पनि, ग्राहकले आफैं भाडा तय गर्न सक्ने

  • मिसन संवाददाता
  • बुधबार, माघ २४, २०८० १६:0९
ट्याक्सीमाण्डुमा अब बाइक सेवा पनि, ग्राहकले आफैं भाडा तय गर्न सक्ने

राइड सेयरिङ एप ट्याक्सीमाण्डुले बाइक सेवा सुरू गरेको छ। ग्राहकको माग बमोजिम बाइक सेवा सुरू गरेको हो।

यस अघि ट्याक्सीमाण्डुले ग्राहकलाई ट्याक्सी सेवा मात्रै दिइरहेको थियो।
ट्याक्सी सेवा लिइरहेका ग्राहकबाटै बाइक सेवाको माग आएपछि उक्त सेवा सुरू गरिएको ट्याक्सीमाण्डुका सञ्चालक अर्जुन केसीले जानकारी दिए।

‘बाइक सेवा पनि दिन पर्‍यो भनेर ग्राहकले धेरै पहिल्यैदेखि माग गरिरहेका थिए,’ उनले भने, ‘हामी राम्रो समयको पर्खाइमा थियौं। त्यो अहिले आयो।’

कम्पनीले विगत चार वर्षदेखि ट्याक्सी सेवा दिइरहको छ।
बाइक राइडर्सको भविष्य सुनिश्चित गर्न बाइक सेवा सुरू गरेको उनले बताए।

‘सबैले आजका लागि काम गरिरहेका छन्। तर राइडर्सको भोलिको भविष्य कसैले सोचेका छैनन्,’ उनले भने, ‘हामी राइडर्सहरूका लागि योजना बनाइरहेका छौं।’

निश्चित अवधिसम्म काम गर्ने राइडर्सलाई शिक्षा स्वास्थ्य तथा पेन्सनको योजना बनाइरहेको उनले बताए।

‘राइड सेयरिङको काम दीर्घकालीन बनाउन पर्छ। त्यसका लागि हामीले राइडर्सहरूलाई के सुविधा दिन सकिन्छ योजना बनाइरहेका छौं,’ उनले भने।

अर्जुनका अनुसार ट्याक्सीमाण्डु सेवा पोखराबाट पनि पाइनेछ। कम्पनीले ट्याक्सीमाण्डु एपलाई अपग्रेड गरेर विभिन्न फिचर समेत समावेश गरेको छ। त्यसमध्ये एक हो–नेगोसिएसन फिर्चस। यसबाट ग्राहकले आफ्नो गन्तव्यको भाडा आफैं तय गर्न सक्छन्।

‘ग्राहकहरूसँग विकल्प हुन्छ। त्यहाँ देखाएको भाडामा उनीहरूले घटाएर रिक्वेस्ट पठाएपछि राइडर्सहरूको सूची आउँछ। सूची हेरेर आफैं राइडर्स रोज्न सकिन्छ,’ उनले भने।

त्यस्तै, राइडर्स र प्रयोगकर्ता दुवैको पैसा बचत गर्न ‘इन एप कलिङ’ फिचर्स पनि राखिएको छ। उक्त फिचर्समा ‘भ्वाइस’ र ‘च्याट’ विकल्प छ।
‘राइडर्सलाई ग्राहक भएको ठाउँसम्म पुग्न तीन–चार पटक फोन गर्नुपर्दा पैसा खर्च हुन्थ्यो। अब एपबाटै फोन वा च्याट निःशुल्क गर्न सक्छन्,’ उनले भने।

यो सेवाले ग्राहकलाई पनि फाइदा पुग्ने उनको भनाइ छ। एपमै फोन वा च्याट सुविधा हुँदा ग्राहकको नम्बर सुरक्षित हुनेछ।
ट्याक्सीमाण्डुमा सेवा लिँदा अन्य कम्पनीको भन्दा सस्तो हुने उनको दाबी छ।

‘अहिले हामीले राइडर्ससँग कमिशन लिएको छैन। कमिशन लिन सुरू गरेपछि पनि १० प्रतिशतभन्दा बढी नलिने हुनाले अन्य कम्पनीको भन्दा सस्तो हुन्छ,’ उनले भने।
उनका अनुसार अन्य राइड सेयरिङ कम्पनीले २० प्रतिशतसम्म कमिशन लिइरहेका छन्।

कम्पनीले राइडर्स र ग्राहकलाई स्वास्थ्य सेवा सुरू गरिसकेको छ।
ट्याक्सीमाण्डुको एप देखाउँदा सुमेरू अस्पतालमा १५ प्रतिशत छुट व्यवस्था रहेको पनि उनले जानकारी दिए। उनका अनुसार राइडर्सको परिवारलाई भने १० प्रतिशत छुट रहेको छ।

सरकारले केही दिन अघिदेखि मात्रै राइड सेयरिङलाई सेवा उद्योग अन्तर्गतको मान्यता दिएको छ। अर्थात् अब रातो नम्बर प्लेट भएका साधनले पनि राइड सेयरिङको सेवा दिन पाउँनेछन्।

  • मिसन संवाददाता
  • -