आजदेखि ई–भिसा र अनलाइन भुक्तानी सेवा

  • मिसन संवाददाता
  • शुक्रबार, माघ २६, २०८० १५:२२
आजदेखि ई–भिसा र अनलाइन भुक्तानी सेवा

अध्यागमन विभागले ई–भिसा र अनलाइन भुक्तानी सेवा सुरुवात गरेको छ । शुक्रवार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाको शुभारम्भ गरेका हुन् ।

विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको छ । जसअनुसार अध्यागमन विभाग र अन्तर्गत कार्यालयहरुमा पूर्ण रुपमा डिजिटल र स्वचालित रुपमा सञ्चालनले घरमै सेवा उपलब्ध हुने भएको छ ।

विभागले माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी तयारी गरिरहेको जानकारी दिएको छ । विभागले शुरु गरेको अनलाइन भुक्तानी सेवाको पहिलो सेवाग्राही ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष निलहरी बास्तोला भएका छन् भने ई–भिसा एक विदेशी नागरिकलाई दिएर शुरुवात भएको छ ।

उक्त सेवा शुभारम्भ भएसँगै नयाँ भिसा प्राप्त गर्न,भिसाको म्याद थप गर्न,पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा अध्यागमन कार्यालयमा उपस्थित हुनुपर्ने,आवेदन दिन र भुक्तानी गर्न लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

अब नाता र विवाहको आधारमा गैरपर्यटक भिसा लिने बाहेक अन्य सेवाग्राही विभाग जानुपर्ने छैन । सबै प्रक्रिया अनलाइनमार्फत हुने र अन्तिममा भिसा स्टिकर टाँस गर्न मात्रै विभाग वा नेपालको जुनसुकै अध्यागमन कार्यालयबाट भिसा स्टिकर टाँस गर्न सकिने भएको छ ।

  • मिसन संवाददाता
  • -