संसदमा भरतपुरको नयाँ नाम : छोरीको नगरपालिका

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १८, २०८० १२:२९
संसदमा भरतपुरको नयाँ नाम : छोरीको नगरपालिका

एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री प्रचण्ड संसद छाडेर छोरीको नगरपालिकामा गएको टिप्पणी गरेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कटाक्ष गरेका छन् । प्रचण्ड आज घुमौं भरतपुरको उद्घाटनका लागि चितवन गएका छन् । सुर्य थापाकै पार्टी अध्यक्ष केपी ओलीसमेत भरतपुर जाने तयारीमा छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले विपक्षी सांसदले स्थानीय तहको नयाँ नाम दिएको भन्दै व्यङ्ग्य गरे । ‘७५३ वटा स्थानीय तहकोबारे मलाई जानकारी थियो । तर छोरी नगरपालिका भन्ने जानकारी थिएन । यो कहाँ पर्दो रहेछ । म सभामुख महोदयमार्फत भन्ने मान्य सदस्यलाई अनुरोध गर्न चाहान्छु, नयाँ नामाकरण भएछ, यो नेपालको कुन नगरपालिका रहेछ ? जानकारी पाए म खुसी हुने थिएँ’, उनले भने ।

भरतपुर भ्रमण वर्षको कार्यक्रममा सहभागी हुन जाँदा थापाले प्रचण्ड छोरीको नगरपालिकामा गएको टिप्पणी गरेका थिए । सो क्रममा उनले प्रधानमन्त्री संसदमा नआई हराएको भन्दै खोजी गर्न समेत सभामुखको ध्यानाकर्षण गराएका थिए ।

  • मिसन संवाददाता
  • -