अमरेश सिंहले भने : बालेनको दम्भ बढेछ, गरिबको टाउको फुटाउँदैछन्

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १८, २०८० १३:५५
अमरेश सिंहले भने : बालेनको दम्भ बढेछ, गरिबको टाउको फुटाउँदैछन्

स्वतन्त्र सांसद डा. अमरेश सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमा दम्भ बढ्दै गएको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधसभाको बैठकको शून्य समयमा बोल्ने क्रममा उनले महानगरका मेयर साहमा दम्भ बढ्दै गएको बताएका हुन्।

‘श्रमजीवीहरूले यो देशमा बस्न नपाउने, काठमाडौंमा बस्न नपाउने?’, उनले भने, ‘कहिले फुटपाथका व्यवसायीको टाउको फुटाउने, कहिले कवाडी हटाउने, काठमाडौंका मेयरमा घमण्ड बढ्न थाले छ, दम्भ देखिन थाल्यो।’ सिंहले तराई-मधेसका मान्छेका कारण राजधानीबासीले तरकारी र फलफूल खान पाइरहेको बताए।

‘मधेसका मान्छेका कारण राजधानीबासीले तरकारी र फलफूल खान पाएका छन्’, उनले भने, ‘कवाडी संकलकको टाउको फुटाइएको छ। साना व्यवसायीलाई आतंकित बनाइएको छ। उनीहरूले कर तिरिरहेका छन्। तर सरकार एकातिर कर लिने अर्कातिर अपमानित गर्ने काम गर्दैछ।’

उनले काठमाडौंमा गरिब, चेपाङ र मुसहर पनि बस्न पाउने बताउँदै मेयर सचेत नभए संघर्ष थाल्ने उल्लेख गरे। ‘काठमाडौंको मेयर सचेत नभए हामी संघर्ष गर्छौँ’, उनले भने, ‘काठमाडौं धनीहरूको मात्रै सहर होइन। यहाँ गरिबले पनि बस्न र बाँच्न पाउँछन्।’

  • मिसन संवाददाता
  • -