राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज : माओवादी र कांग्रेस आमनेसामने

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० 0८:१९
राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज : माओवादी र कांग्रेस आमनेसामने

राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन आज (मंगलबार) हुँदै छ। नेकपा माओवादी केन्द्रका नारायण दाहाल र नेपाली कांग्रेसका युवराज शर्माबीच राष्ट्रिय सभाकाे अध्यक्षमा प्रतिस्पर्धा हुन लागेको हो।

दाहाललाई सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेकपा एमालेका साथै जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको पनि साथ छ।

दाहालको प्रस्तावकमा माओवादी केन्द्रका गोपीबहादुर सार्की आछामी र समर्थकमा एमालेका देवेन्द्र दाहाल, नेकपा एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन्।

त्यसैगरी शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थकमा कांग्रेसका किरणबाबु श्रेष्ठ तथा लोसपाका शेखरकुमार सिंह छन्। गठबन्धनमा तलमाथि नभए दाहालले बहुमत पाउने निश्चितजस्तै छ। सत्ता गठबन्धनसँग ३९ सांसद छन्। अध्यक्ष जित्न २९ मत चाहिन्छ।

एकभन्दा बढी प्रस्तावको सूचना प्राप्त भएमा दर्ता क्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थनमा वक्तव्य दिने प्रक्रिया राष्ट्रिय सभा नियमावलीमा तय गरिएको छ।

आज बिहान ११ बजेर ९ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्दैछ। संसद सचिवालयले प्रकाशित गरेको सम्भावित कार्यसूचीअनुसार, बैठकको सुरुमा राष्ट्रिय सभाका सदस्य आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्।

अर्का सदस्य गोपीबहादुर सार्की आछामीले नारायणप्रसाद दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन्। सभाको अध्यक्षता उपाध्यक्ष उर्मिला अर्यालले गर्ने भएकाले उनले दुवै प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछिन्।

त्यसपछि दुवै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ। छलफल सकिएपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले सबै प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ। उम्मेदवारको प्रस्तावको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुने नियमावलीको व्यवस्था छ।

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन २९, २०८० 0८:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट