स्थानीय जनशक्तिको अभाव

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन १७, २०७९ १२:४४
स्थानीय जनशक्तिको अभाव

म्याग्दीको धवलागिरि गाउँपालिकाले शैक्षिक बेरोजगारलाई लक्षित गरेर लोकसेवा र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा मङ्गलबारदेखि सुरु भएको १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिकाभित्र बसोबास गर्ने माध्यामिक शिक्षा परीक्षा (एसइई)उत्तीर्ण भएका, शिक्षक र लोकसेवा आयोगको परीक्षामा सहभागी योग्य व्यक्तिबाट आवेदन सङ्कलन गरेर तालिममा दिइएको हो । सरकारी सेवाप्रति आकर्षण बढाउन र सार्वजनिक सेवा प्रवाहका लागि आवश्यक जनशक्ति उत्पादन गर्न तालिमले सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भन्नुभयो । “दश, १२ कक्षा उत्तीर्ण हुनेबित्तिकै ‘पासपोर्ट’ लिएर विदेशिने चलनले प्रशासनिक र राजनीतिक क्षेत्रमा हामी पछि परेका हौँ”, उहाँले भन्नुभयो, “निजामती, सेना, प्रहरी र शिक्षक पेसामा संलग्नता बढाउन निःशुल्क तालिम आयोजना गरेका हौँ ।” सरकारी सेवामा स्थानीय जनशक्ति नहुँदा पालिका र विषयगत शाखामा कर्मचारी तथा शिक्षकको अभाव भएको अध्यक्ष पुनले बताउनुभयो । तयारी कक्षाका लागि सहरबजारमा जान नसक्ने तर क्षमता भएकाहरूका लागि गाउँपालिकाले आयोजना गरेको तालिम उपयोगी बन्ने प्रमुख प्रशासकीय अधिकृत धु्रव रिजालले जानकारी दिनुभयो । निरन्तरको मेहनत र हार नमान्ने हो भने लोकसेवा र शिक्षक सेवामा सफल भइने अनुभव उहाँले सुनाउनुभयो । तालिममा शिक्षक सेवा र लोकसेवा आयोगको परीक्षालाई केन्द्रित गरेर सैद्धान्तिक विषयमा सहजीकरण गरिने जनाइएको छ ।

  • मिसन संवाददाता
  • -