नेपालमा महिला सहभागिता उल्लेखनीय : उपसभामुख रानामगर

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १८, २०७९ १४:३४
नेपालमा महिला सहभागिता उल्लेखनीय : उपसभामुख रानामगर

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताउनुभएको छ । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उहाँले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताउनुभयो । “धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको छ”, उहाँले भन्नुभयो, “नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पु¥याउनुपर्छ ।” महिला अधिकार स्थापित गर्न र समानताका लागि संघर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको उहाँको भनाइ छ । हरेक क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको बताउँदै उहाँले बेथिति विरुद्ध ‘एक्सन’ मा उत्रिन जरुरी रहेको औँल्याउनुभयो । उहाँले यौनिक, अपाङगता र भूगोलका आधारमा महिला सहभागिता हुनुपर्नेमा जोड दिनुभयो । “राजनीतिमा महिला पार्टीको ‘रबर स्टाम्प’ जस्तै भएका छन्”, उहाँले भन्नुभयो, “राजनीतिक बेथितिका विरुद्ध लाग्न जरुरी छ ।” उहाँले राजनीतिमा पार्टी र पार्टीको आकारअनुसार गरिने व्यवहारको अन्त्य गरिनुपर्नेमा जोड दिनुभयो । वीरता लेडी जेसीजले यस वर्ष पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ । वीरता लेडी जेसीजले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नारी सम्मान कार्यक्रमअन्तर्गत यस वर्ष प्राविधिक विधातर्फ लिङ्देनलाई सम्मान गरिएको जेसीजका अध्यक्ष सङ्गीता गिरीले जानकारी दिनुभयो । वीरता लेडी जेसीजका पूर्वअध्यक्षहरुको सक्रियतामा सन् २०२१ देखि नारी दिवसको अवसरमा झापामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक महिलालाई प्रत्येक वर्ष फरक–फरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गरिँदै आएको छ ।

  • मिसन संवाददाता
  • -