भूराजनीतिक तनाव अन्त्यका लागि एकताको आह्वान

  • मिसन संवाददाता
  • बिहिबार, फाल्गुन १८, २०७९ १६:२0
भूराजनीतिक तनाव अन्त्यका लागि एकताको आह्वान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी ट्वेन्टी सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री मोदीले आज यहाँ आयोजित जी ट्वेन्टी सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरूलाई एकताबद्ध हुन अपील गर्नुभएको हो । प्रधानमन्त्री मोदीले विकास, आर्थिक लचिलोपन, वित्तीय स्थायित्व, भ्रष्टाचार, आतङ्कवाद र खाद्य तथा ऊर्जा सुरक्षाका चुनौतीको सामना गर्न विश्वले जी ट्वेन्टीलाई आशा र भरोसका कासथ हेरेको बताउनुभयो । उहाँले समूहको अध्यक्षका नाताले भारतले ‘एक पृथ्वी, एक परिवार र एकै भविष्य’ समूहको आदर्श वाक्य चयन गरेको उल्लेख गर्दै यसको उद्देश्य एकता र साझेदारी भएको स्पष्ट गर्नुभयो । उक्त आदर्श वाक्यले साझा उद्देश्य प्राप्तिका लागि एकजुट हुने भावना झल्काउनेमा विश्वस्त रहेको प्रधानमन्त्री मोदीले बताउनुभयो । विश्वव्यापी विभाजनको समयमा भएको विदेशमन्त्रीहरूको बैठक भूराजनीतिक तनावबाट प्रभावित हुनु सामान्य भए पनि यो तनाव कसरी समाधान गर्ने भन्ने बारेमा हामीबीच पृथक अडान र दृष्टिकोण भए पनि एकताबद्ध भएर त्यसलाई अन्त्य गर्नेतर्फ लाग्नु श्रेयस्कर हुने अभिमत प्रधानमन्त्री मोदीले प्रकट गर्नुभयो । बैठकका अध्यक्ष भारतीय विदेश मन्त्री एस जयशङ्करले वैश्विक दबाब र प्रणालीगत चुनौतीको सामना गर्दै बहुपक्षीयताको प्रवद्र्धनमा जोड दिनुभयो । उहाँले खाद्य र ऊर्जा सुरक्षा चिन्ताका विषय भएका बताउँदै तिनको दीर्घकालीन समाधान खोजिनुपर्ने विचार व्यक्त गर्नुभयो । विश्व अर्थतन्त्रका लागि ती महत्वपूर्ण विषय भएकाले सोहीअनुसार व्यवहार गर्नुपर्ने उहाँले बताउनुभयो ।

  • मिसन संवाददाता
  • -