मर्दीखोला नेपाल शैक्षिक प्रतिष्ठानले २४औँ वार्षिकोत्सवका अवसरमा रु पाँच लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको छ । कास्कीका विभिन्न सरकारी विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाई रू २ हजारका दरले एक लाख ८० हजार छात्रवृत्तिका लागि र सात विद्यालयलाई तीन लाख २० हजार बराबरको विज्ञान तथा गणित विषयका शैक्षिक सामग्री प्रदान गरिएको हो । शैक्षिक सामग्री पाउने विद्यालयमा महेन्द्र मावि लाहाचोक, पृथ्वीनारायण मावि धम्पुस, निष्पक्ष मावि हुम्दी, बराह मावि भिडाबारी, माछापुच्छ्रे मावि ढिकुरपोखरी, सिर्जना सामुदायिक मावि सिमपाली र सङ्गम मावि चन्द्रकोट छन् । कार्यक्रममा गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कूलपति सूर्यबहादुर खड्का ‘बिखर्ची’ले शिक्षाका माध्यमबाट व्यक्ति एवम् समाजलाई परिवर्तन गर्न सकिने बताउँदै शिक्षा क्षेत्रमा गरिने सहयोग महत्वपूर्ण हुने बताउनुभयो । प्राप्त सहयोगलाई अधिकतम उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कुनै पनि विद्यार्थी आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित नहुन् भन्ने प्रतिष्ठानको उद्देश्य रहेको बताउँदै सचिव डिल्लीराम गिरीले समाज र विद्यालयको सल्लाह, सुझाव अनुसार छात्रवृत्ति एवम् शैक्षिक सामग्री वार्षिकरुपमा वितरण गर्दै आइएको बताउनुभयो । कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, माछापुच्छ्रे गाउँपालिका शिक्षा शाखा प्रमुख सम्झना पोखरेल, माछापुच्छ्रे गाउँपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद पौडेल, निष्पक्ष माविका प्रधानाध्यापक दुर्गा रावत लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । मर्दीखोला शैक्षिक प्रतिष्ठान २०५४ सालदेखि कार्य सुरु गरी २०५६ सालमा विधिवत दर्ता भई शैक्षिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।