चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

  • मिसन संवाददाता
  • आइतवार, चैत्र १९, २०७९ १५:५४
चितवन–२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी वैशाख १० गते चितवन क्षेत्र नं–२ मा प्रतिनिधि सभाको उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि शनिबार भरतपुर–१० मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला अदालत चितवनका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत वासुदेव न्यौपाने र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले कार्यालयको उद्घाटन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन अधिकृत न्यौपानेले चैत २० गतेदेखि २३ गतेसम्म उम्मेदवारले उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “२० गते मनोनयन दर्ताका लागि समय तोकिएको छ भने २३ गते मनोनयन दर्ता टुङ्ग्याएर वैशाख १० गते उपनिर्वाचन हुनेछ ।” न्यौपानेले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउने प्रतिबद्धता जनाउनुभयो । प्रमुख जिल्ला अधिकारी पौडेलले शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सुरक्षा निकाय कटिबद्ध रहेको बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले चितवन क्षेत्र नं २ मा चार सय ८० नयाँ मतदाता थपिएको जानकारी दिनुभयो । “गएको निर्वाचनमा एक लाख २४ हजार दुई सय १५ मतदाता थिए, अहिले चार सय ८० जना थिपिएका छन्”, उहाँले भन्नुभयो । निर्वाचनका लागि ४३ मतदानस्थल र एक सय ३८ मतदान केन्द्र तोकिएको छ ।

  • मिसन संवाददाता
  • -