अल अक्सा मस्जिदबाट तीन सय पचासभन्दा बढी पक्राउ

  • मिसन संवाददाता
  • बुधबार, चैत्र २२, २०७९ १५:१९
अल अक्सा मस्जिदबाट तीन सय पचासभन्दा बढी पक्राउ

पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ । हातमा लाठी लिएका उनीहरूले कानुन उल्लङ्घन गरेका र विष्फोटक सामग्रीसमेत बोकेका प्रहरी प्रवक्ताले बताएका छन् । मस्जिदको शान्तिसुव्यवस्था कायम गर्न बाध्य भई प्रहरी त्यहाँ प्रवेश गरेको उनले स्पष्ट गरेका छन् । नमाज पढ्न बसेका श्रद्धालुलाई लक्ष्य गरेर मस्जिदमा आक्रमणको प्रयास भएको हुनसक्ने भन्दै उनले हिंसा भड्किन नदिन तत्काल कारबाही गरिएको बताएका छन् । जेरुसेलममा रहेका एएफपीका पत्रकारहरूले अल अक्सा मस्जिदभित्र बुधबार बिहानैदेखि झडप भएको बताएका छन् । । मस्जिदमा प्यालेष्टिनी समूह हमासका कार्यकर्ताले आक्रमण गरेका उनीहरूले जनाएका छन् । हमासले आफ्ना कार्यकर्तालाई मस्जिदमा सामूहिकरूपमा उपस्थित हुन आह्वान पनि गरेको थियो । रमजानको पवित्र महिनमा हजारौँ भक्तजन प्रार्थनाका निम्ति अक्सामा आउने गर्छन् । अल अक्सामा झडप भएपछि उत्तरी गाजापट्टीबाट इजरायली क्षेत्रतर्फ धेरै रकेट प्रहार भएका थिए । इजरायली सेनाले गाजापट्टीबाट प्रहार भएका पाँचवटा रकेटलाई देशको हवाई रक्षा प्रणालीले रोकेको र अन्य चारवटा निर्जन स्थानमा खसेका जनाएको छ ।

  • मिसन संवाददाता
  • -