नक्कली भूटानी शरणार्थी बनाएर अर्बौं ठगी काण्डमा मुछिँदा किन चुपचाप छन् ‘बादल’ !

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १३:५५
नक्कली भूटानी शरणार्थी बनाएर अर्बौं ठगी काण्डमा मुछिँदा किन चुपचाप छन् ‘बादल’ !

काठमाडौं । नेपालको राजनीतिमा राम बहादुर थापा ‘बादल’ अपवाद हुन् भन्दा अन्यथा नहोला । भाषण र गालीगलौजमा उत्रने नेताहरुको भिडमा उनी कतै देखिँदैनन् । स्वभावले अन्तरमूखि मानिने बादलको राजनीतिक जीवन भने उतारचडावपूर्ण छ । कतिपयले उनलाई ढुलमूले समेत भन्ने गरेका छन् । हुनपनि उनको राजनीतिक यात्राले पनि कतिपयले लगाउने त्यस्ता आरोपहरुलाई मलजल गर्ने गर्दछ ।

जनयुद्धकालमा ‘लिनप्याओ’को आरोप लागेका उनी युद्धकालमै कमरेड हिमाली अर्थात पम्फा भुषालसँग अनैतिक सम्बन्ध राखेको आरोपमा कारबाहीमा परे । त्यसपछि माओवादी शान्तिप्रक्रियामा आएपछि बादल रक्षा मन्त्रीसम्म बने । तत्कालिन प्रधानमन्त्री प्रचण्डलाई तत्कालिन सेनापति रुकमांगत कटुवालमाथि कारबाही गर्न उक्साएर आफै भने राजधानी छाडेर भागेको उनीमाथि आरोप थियो । माओवादी विभाजनको शुत्रपात पनि बादलहरुकै नेतृत्वमा भएको थियो । तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डलाई ‘लालगद्दार’ भन्दै तत्कालिन नेकपा एकीकृत माओवादी पार्टी फूटाएर मोहन बैद्य नेतृत्वमा क्रान्तिकारी माओवादी गठनको सुत्रधार पनि बादल नै थिए ।

तर बादलले अन्तिममा बैद्यलाई धोका दिएर ‘ईतिहासको आवश्यकता’ भन्दै फेरी प्रचण्डसँगै अंकमाल गर्न आइपुगेका थिए । माओवादी केन्द्रसँगको धुर्विकरण पछि बादल तत्कालिन माओवादीको शक्तिशाली पदमा उक्लिएका थिए ।
नेपालको राजनीतिमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा उनी निर्णायक ठाउँमा थिए । नेकपा निर्माण पछि बनेको सरकारमा बादल सचिवालय सदस्य मात्रै भएनन् प्रचण्डको प्रस्तावमा गृहमन्त्री समेत बने । ओली सत्तामा रहुन्जेल अन्तिमसम्म उनी गृहमन्त्रीको रुपमा रहेका थिए । नेकपा विभाजन ताका बादल अन्तिममा कहाँ जान्छन् भन्ने प्रश्न उठीरहेको बेला दरमार्गस्थित नेकपा एमालेले नेतृत्व गरेको सभामा गएर भाषण गरे । दरबारमार्गबाट ‘प्रचण्डलाई चिडियाखानामा थुन्ने’ धम्की दिएर चर्चामा आएका बादल यतिबेला मौन छन् । उनी गृहमन्त्री रहेकै बेला भूटानी शरणार्थी बनाएर सयौँ सर्वसाधरणलाई ठगी गरेको गम्भिर आरोप लागेको छ ।
केही दिन यता प्रहरीले नेपाली नागरिकलाई भुटानी शरनार्थी बनाएर ठगी गर्ने गिरोहका व्यक्तिहरुलाई पक्राउ गरिरहेको छ । यसरी नक्कली शरणार्थी बनाएर ठगी गर्ने गिरहसँग राजनीतिक साँठगाँठ रहेको खुलेको छ । भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहमा पूर्वगृहमन्त्री रामबहादुर थापा (बादल)का सुरक्षा सल्लाहकार इन्द्रजित राई र पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको समेत संलग्नता देखिएको छ । त्यति मात्रै होइन पक्राउ परेका अभियुक्तले त बादल र उनका पुत्र प्रतिक थापाको नाम समेत पोलेका छन् ।

पिडीतहरुले तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईदेखि पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरासम्मलाई मुछेका छन् । पूर्वमन्त्री रायमाझीले गिरोहका नाइकेहरुसँग खिचेको सामूहिक तस्बिर र उनका छोरा सन्दीप रायमाझीका नाममा काटिएको १ करोड ५० लाखको चेकसमेत सार्वजनिक भएको छ । पूर्वमन्त्री रायमाझीले एक मिडियालाई प्रतिक्रिया दिने क्रममा उक्त गिरोहसँग लामो सम्बन्ध रहेको स्विकार समेत गरेका छन् । साथै उनले चिनारु, साथीभाई भएपछि स्वभाविक रुपमा उठबस भैहाल्ने बताएका थिए । गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक प्रहरीले बरामद गरेको छ ।

घटनामा संलग्न भएको बयान र उजुरी समेत परेपछि प्रहरीले बादल र उनका पुत्रलाई पक्राउ गरि बयान लिनुपर्ने हो । तर, काठमाडौं प्रहरी बादलको नाम सुन्ने वित्तिकै चुपचाप बसेको छ । बयान समेत लिने हिम्मत गर्न सकेको छैन ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाएर अमेरिका पठाउने भन्दै अर्बौ रकम ठगी गर्ने गिरोहमा उनी संलग्न रहेको खुलेको छ । उक्त गिरोहका सदस्यबाटै उनी यो घटनामा मुछिएका छन् । तर थापा यस विषयमा कुनै पनि प्रष्टिकरण दिएका छैनन् । उनी कहाँ छन् ? के गर्दैछन् ?

गिरोहले युवालाई काठमाडौंका विभिन्न स्थानमा बोलाएर फोटो खिचाउँदै किस्ता–किस्तामा प्रतिव्यक्ति २० लाखदेखि ४३ लाखसम्म असुलेको पीडितको भनाई छ । गिरोहले १ हजार १७ जनाबाट २० लाखका दरले रकम उठाउँदा पनि २ अर्बभन्दा बढी संकलन हुन्छ ।

केहीदिन अघि मात्रै गिरोहका सदस्य सन्देश शर्मा पक्राउ परेका छन् । यसअघि गिरोहका अन्य चार सदस्य केशव दुलाल, सागर थुलुङ राई, टेक गुरुङ र सानु भण्डारी यसअघि नै पक्राउ परिसकेका छन् । उनीहरूविरुद्ध प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

काठमाडौं प्रहरी पवक्ता सिताराम रिजालले यो सबै कुरा अनुसन्धानकाक्रममै भएको बताए । उनले भने, “यो हाम्रो अनुसन्धानबाट खुल्दै जाने

कुरा हो । यदि यो कुराहरु खुल्दै गयो भने बयान लिने कुरा त भइहाल्छ । यसमा अहिले नै यस्तो हुन्छ भन्न सकिदैन । अनुसन्धान टोलीले यो विषयको अनुसन्धान गरिरहेको छ ।”

धेरैजसो भुटानी शरणार्थीलाई तेस्रो देशमा पुनर्वास गरिए पनि केही शरणार्थी अझै अलपत्र छन् । छुटेका शरणार्थीको समस्या स्थायी रूपमा समाधान गर्न केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २९ असार २०७६ मा कार्यदल गठन गरेको थियो । गृहका तत्कालीन सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित कार्यदलले काम गरिरहेकै बखत राजनीतिक संरक्षण प्राप्त गिरोहले नक्कली शरणार्थीको सूची संकलन गरेको पुष्टि समेत भएको छ । यो कार्यादलले तयार पारेको प्रतिवेदन नै सोहीदिन गिरोहका नाइके दुलालको ह्वाट्स एपमा पुगेपछि यो कार्यदलमाथि प्रश्न उठेको छ । बादल र ओलीले तयार पारेको कार्यादलनै सुनियोजित रुपमा भूटानी शरणार्थीको ठगी धन्दा चलाउने प्रपञ्च मात्रै भएको अहिले पुष्टि भएको छ ।

हरेक जसो घटनामा रिजर्भ बस्ने ‘बादल’ आफूमाथि यति गम्भिर आरोप लाग्दा समेत प्रतिक्रिया विहिन बनेका छन् ।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा पूर्वमुख्य मन्त्री राजेन्द्र पाण्डेले बादल र रायमाझीको नाम पनि मुछिएको भन्दै अपराधमा संलग्न भए कारबाहीको माग गर्दै संसदमै हंगामा मच्चाए । तर, यतिका हुँदा पनि बादल मौन छन् ।

बादलको राजनीतिक यात्रा
गुल्मीको एउटा गाउँमा जम्मेका बादले प्रारम्भिक शिक्षा भारतमा लिए । त्यसपछि उनको परिवार चितवनमा बसाइ स¥यो । उनले स्थानीय शारदा माविबाट २०३१ सालमा एसएलसी उत्तीर्ण गरेर रामपुर क्याम्पस भरतपुरमा अध्ययन गरे । अध्ययनकै क्रममा पुष्प कमल दाहाल प्रचण्डसँग भरतपुर क्याम्पसमा पहिलो भेट भयो । सोही क्याम्पसबाट आईएस्सीएजी सकेपछि डिग्री कोर्सका लागि तत्कालीन सोभियत संघमा छात्रवृत्ति पाए । मस्कोको लुमुम्बा विश्वविद्यालयमा बाली विज्ञान (एग्रोनोमी) पढे । शक्तिशाली सोभियत मार्क्सवाद र लेनिनवादका लागि उर्वरभूमि बनेर शक्तिशाली थियो । बादलले त्यहाँ मार्क्सवादी अध्ययनलाई तीव्रता दिए । अध्ययनको क्रममा सोभियतबाट आफ्नो जीवनमा के कस्तो छाप प¥यो ? बादलले त्यसबारे धेरै बताएका छैनन् ।

२०३८ सालकको चुनाव बहिष्कारको अभियानमा पक्राउ परे । पक्राउपछि उनी १० महिना जेल बसे । जेलबाट छुटेलगत्तै जिल्ला कमिटी हुँदै ४ महिनामा क्षेत्रीय ब्युरो सदस्य बने । २०४२ सालमा उनी तत्कालीन नेकपा (मशाल) को केन्द्रीय सदस्य बने । त्यसलगत्तै उनले राप्ती अञ्चलको जिम्मा पाएका थिए । गम्भीर स्वभावका बादल माओवादी ‘युद्धकाल’देखि कार्यकर्ता मिलाएर लैजाने बीच धारको नेतृत्व गरेर छवि गरेका थिए । पार्टी निर्माणमा
२०६० जेठ २८ गते शान्ति वार्ता प्रक्रियामा पहिलो पटक खुलामञ्चमा देखिए । समयसँगै पार्टीको जिम्मेवारी सम्हादै उनले गृहमन्त्रालय, रक्षामन्त्रालय लगायतका जिम्मेवारी पाए ।

नेकपा विभाजनको बादलले एमालेमै रहेर राष्ट्रिय राजनीतिमा चर्चा पाए । उनको गृहमन्त्री पदले निरन्तरता पायो । माओवादी छोडेका कारण राष्ट्रियसभा सदस्य समेत गुमाएका बादल एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्ष बनेका छन् ।

  • मिसन संवाददाता
  • बिहिबार, बैशाख ७, २०८० १३:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट