राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त हुनुभएका डा प्रभु बुढाथोकीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । सिंहदरबारस्थित आयोगको कार्यालयमा उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ समक्ष बुढाथोकीले आज शपथ लिनुभएको हो । बुढाथोकी दोस्रो पटक आयोगको सदस्यमा नियुक्त हुनुभएको हो । यसअघि डा श्रेष्ठ उपाध्यक्ष रहेकै बेला बुढाथोकी आयोगको सदस्य हुनुहुन्थ्यो । सरकारले यही वैशाख ८ गते बुढाथोकीलाई सदस्य पदमा नियुक्त गरे पनि शपथ भने बाँकी थियो । बुढाथोकीले आजै पदभार ग्रहणसमेत गर्नुभएको छ । आयोगको कामकारबाहीलाई सशक्त रुपमा अघि बढाउन अब उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा आफूले काम गर्ने उहाँले बताउनुभयो । आयोगको सदस्यका रुपमा यसअघि नै डा रामकुमार फुँयाल, डा जयकान्त राउत, प्रा डा आरपी विच्छा र डा रमेशचन्द्र पौडेलले जिम्बेवारी सम्हालिसक्नुभएको छ । को हुन् बुढाथोकी ? बुढाथोकी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा लामो अनुभव भएको व्यक्ति हुनुहुन्छ । रणनीतिक योजना तथा व्यवस्थापन तथा प्राकृतिक स्रोत व्यवस्थापनका विज्ञ बुढाथोकीले बेलायतको ‘रिसोर्स गभर्नेस’मा विद्यावारिधि गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट तथ्याङ्कशास्त्रमा स्नातक गर्नुभएका बुढाथोकीले भारत र बेलायतबाट छुट्टाछुट्टै विषयमा स्नात्तकोत्तर गर्नुभएको छ । नेपाल बाहेक बुढाथोकीसँग इरान, बेलायत, बङ्गलादेशजस्ता मुलुकमा काम गरेको अनुभवसमेत छ । बुढाथोकीसित त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनको अनुभवका साथै युएनडिपी, युएसआईडी, युनेस्को जस्ता संस्थामा काम गरेको अनुभवसमेत छ ।