काठमाडौं । बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त खेतीयोग्य जमिनमा सिंचाइ पुर्याउनका लागि अध्ययन भएको छ ।
आज बिहान बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ र खानेपानी, ऊर्जा तथा सिंचाइमन्त्री तिर्थबहादुर लामा सिन्धुली जिल्लाको हरिहरपुरगढी गापाको वडा नम्बर १-२ र ३ मा रहेकाे दसौं हजार बिगाह उर्वर भूमि सिंचाइ गर्नसक्ने बज्रमारा सिंचाइ आयोजनाको संभाव्यता अध्ययन गर्न गएका हुन् ।
सो पालिकाका अध्यक्ष बज्रध्वज वाइवालगायतका स्थानीय टीमसँग बागमती किनारको बस्ती बज्रमारा पुगेका हुन् । सिन्धुली, काभ्रे र मकवानपुर ३ जिल्लाको सीमाना जोडिएको स्थल भोर्लेनी नजिकै रहेकाे छ । दसौं हजार बिगाह उर्वर भूमि सिंचाइ क्षमता भएकाे आयोजनाको DPR तयार भैसकेको छ ।
यस बहुवर्षीय आयोजनालाई आव. २०८०/०८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने जानकारी मुख्यमन्त्रीलगायत मन्त्रीहरूले गराएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्री, यसै निर्वाचन क्षेत्रबाट अत्याधिक मतका साथ विजयी भएका हुन् । उहाँका अनुसार बागमती प्रदेश सभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकांकमा सबैभन्दा पुछार अर्थात् ६६ औं नम्बरमै रहेको यस क्षेत्रलाई ५ वर्षभित्र प्रदेसकै नमूना क्षेत्र बनाउने बताउनु भएकाे छ ।
त्यस्तै बागमती प्रदेश सरकारले मरिण र हरिहरपुरलाई धान पकेट क्षेत्र र घ्याङ्लेख गापालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरि यस क्षेत्रमा कृषि क्रान्ति ल्याउने बताउनु भएकाे छ ।
सुनकोसी मरिण डाइभर्सनले अबको केही वर्षभित्र मरिण र हरिहरपुरगढी गापामा अहिले बगर बनिरहेको लाखौं बिगाह जमिन उकास भई, दसौं हजारौं बिगाह सुख्खाग्रस्त जमिनमा सिंचाइ सुविधा पुग्ने मन्त्री श्रेष्ठले बताउनु भयाे ।