प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने

  • मिसन संवाददाता
  • आइतवार, पुस २२, २०८० १६:१८
प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापना हुने

नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन्।

गण्डकी प्रदेशको राजधानी पोखरामा आइतबार आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए ।

उनले समाजमा आर्थिकसँगै साइबार अपराध, लागूऔषध दुव्र्यसनी, सामाजिक कसूरलगायत चुनौतीका रुपमा देखा परिरहेको उल्लेख गरे । लागुऔषध नियन्त्रणका लागि कार्ययोजना बनाएर जिल्ला तहमा लागू गर्न लागिएको महानिरीक्षक कुँवरले बताए । उनले वैदेशिक रोजगार, अध्ययन, भ्रमण आदि उद्देश्यले नेपालबाट अन्तरदेशीय आवातजावत बढेकाले ती क्षेत्रसँग सम्बन्धित अपराधको जोखिम बढेको धारणा राखे ।

महानिरीक्षक कुँवरले पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएकाले पोखरामा पर्यटनमैत्री सेवालाई थप विस्तार गरिने जानकारी दिए। नेपाल प्रहरीको अपराध अनुसन्धान शाखा र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा आयोजित गोष्ठीमा प्रदेशअन्तर्गतका ११ वटै जिल्लाका प्रहरी प्रमुखलगायत प्रहरी अधिकृतको सहभागिता थियो ।

  • मिसन संवाददाता
  • -