राष्ट्रियसभाका माओवादी उम्मेदवार : जसले जनयुद्धमा श्रीमान, आँखा र हात गुमाए !

  • मिसन संवाददाता
  • सोमवार, पुस २३, २०८० 0९:0६
राष्ट्रियसभाका माओवादी उम्मेदवार : जसले जनयुद्धमा श्रीमान, आँखा र हात गुमाए !

आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ। देशका सातवटै प्रदेशका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ।

राष्ट्रियसभाका २० सिटको पदावधि आगामी फागुन २० गते सकिँदैछ। ६ वर्षे कार्यकाल सकिएर रिक्त हुन लागेका राष्ट्रियसभाका २० सिटमा निर्वाचन हुन लागेको हो।

आयोगका अनुसार आज मनोनयन दर्ता हुने उम्मेदवारीविरुद्ध पुस २४ गते दाबी, विरोध तथा उजुरी गर्न सकिने छ। पुस २५ र २६ गते उजुरी, दाबी, विरोधमा जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुने आयोगले जनाएको छ।

पुस २७ गते उम्मेदवारी फिर्ता लिन चाहनेका लागि समय तोकिएको छ। सोही उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने छ।

राष्ट्रियसभामा सत्ता गठबन्धले संयुक्त रुपमा उम्मेदवारी दिने तयारी गरेका छन् भने एमाले एक्लै चुनाव लड्ने अवस्थामा छ।

नेकपा माओवादीले केन्द्रले राष्ट्रिय सभा उम्मेदवार तय गरेर सम्बन्धित प्रदेश पठाई सकेको छ। सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादीको भागमा सोही पार्टीबाट रिक्त ३ सहित ६ सिट परेको छ।

आइतबार दिउँसो बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले उम्मेदवार तय गरेको हो। माओवादीले सबै जनयुद्धकालीन नेतालाई उम्मेदवार बनाएको छ। जसमा दुई जना युद्धमा घाइते भएका छन्।

माओवादीले चम्पा कार्की, श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णु विक र रेणु चन्दलाई उम्मेदवार बनाएको सो पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए। यीमध्ये झक्कु सुवेदी र रेणु चन्द पहिलो संविधान सभामा निर्वाचित भएका थिए।

कोशी प्रदेशबाट महिला क्लस्टरबाट माओवादी केन्द्रले चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ। ओखलढुंगा निवासी उनी २०५४ मा जनयुद्धमा होमिएकी हुन्। लडाइँमा उनी घाइते भएकी थिइन्। उनले युद्ध कै क्रममा एउटा हात गुमाएकी छन् ।

बागमती प्रदेशबाट नुवाकोटका श्रीकृष्ण अधिकारी उम्मेदवार बनेका छन्। जनयुद्धको सुरुवातदेखि भूमिगत भएका उनी अहिलेसम्म अवसर नपाउने नेतामध्येमा पर्छन्।

युद्धकै क्रममा उनी रामेछापको बेथानमा भएको लडाइँमा घाइते भएका थिए। पञ्चायती कालमा पनि भूमिगत राजनीति गरेका उनी अहिले माओवादी केन्द्रको प्रदेश सम्पर्क विशेष कमिटीका अध्यक्ष छन्। उनले युद्धमा आँखा गुमाएका थिए ।

गण्डकीबाट मनरुपमा शर्मालाई माओवादीले राष्ट्रिय सभाको ६ वर्षे कार्यकालका लागि उम्मेदवार बनाएको छ। पर्वतकी शर्मा सहिद परिवार हुन्। २०६१ मंसिर १७ गते उनका श्रीमान् विजय सुवेदी सेनाबाट मारिएका थिए।

  • मिसन संवाददाता
  • -