न्यायाधीश मरासेनी : हाजिर भएको २ दिनमै निधन, गाडीभित्रै हृदयघात

  • मिसन संवाददाता
  • बुधबार, माघ १७, २०८० १३:0२
न्यायाधीश मरासेनी : हाजिर भएको २ दिनमै निधन, गाडीभित्रै हृदयघात

न्यायाधीश मातृका मरासेनीको निधनको शोकमा उच्च अदालत पाटन र मातहतका अदालतहरु आज बन्द भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मंगलबार निधन भएको थियो । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बुधबार (माघ १७ गते) शोक बिदा दिने निर्णय गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले पनि सूचना जारी गरी आज अदालत बन्द गरिएको जनाएको छ । न्यायाधीश मरासिनीलाई गाडी भित्रै हृदयाघात भएको पाइएको छ। कीर्तिपुरको ट्यांलाफाँट बस्दै आएका न्यायाधीश मरासिनी उच्च अदालत पाटन जाने तयारीमा थिए। अदालत जाँदै गरेका मरासिनीलाई भने गाडी भित्रै हृदयाघात भएको थियो।

सुरक्षा स्रोतका अनुसार न्यायाधीश मरासिनीलाई गाडीमै हृदयाघात भएपछि तत्कालै त्यहीबाट कलंकीस्थित नेसनल अस्पताल लगिएको थियो। तर अस्पतालले उनलाई मृत घोषित गर्‍यो।

५६ वर्षीय मरासिनी सरुवा भएर दुई दिनअघि मात्र पाटन उच्च अदालत हाजिर भएका थिए। न्यायपरिषद्ले गत पुस १८ गते उच्च अदालतमा रिक्त रहेका ४० मध्ये ३९ जना न्यायाधीश नियुक्त गरेको थियो। उच्चको न्यायाधीशमा बढुवा भएपछि रौतहट जिल्ला अदालतबाट उनी उच्च अदालत आएका थिए।

  • मिसन संवाददाता
  • -