माल्टा, पोल्याण्ड, क्यानडा, क्रोशिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै ६ सय जनाभन्दा बढी सर्वसाधारणलाई ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरी ललितपुरकाे कन्जोसोम गाउँपालिका ४ घर भइ इमाडोल बस्दै आएका ३२ वर्षका सुजन तामाङलाई सार्वजनिक गरेकाे हाे ।
उनले काठकाडाैंकाे बालाजु चोकमा युरो विंग्स एजुकेशन कन्सलटेन्सी सञ्चालन गरी आफूलाई विकास वाइबाको नक्कली परिचय दिइ युरोपियन मुलुक पठाइदिन्छु भन्दै ६ सय बढी सर्वसाधारणसँग करोडौँ रुपैयाँ ठगी गरेको प्रहरी नायब उपरीक्षक अनिल घिमिरेले बताए ।
उनका अनुसार तामाङ वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भइ फरार रहेका थिए । तामाङले ६ सयभन्दा बढी सर्वसाधारणबाट ५० हजारदेखि ५ लाखसम्म रकम लिएको प्रहरीले बताएको छ ।
उनले ठगी गरेको रकमबाट ४ करोड व्यक्तिगत ऋण तिरेको, राप्ती म्यानपावर वसुन्धारामा ५० प्रतिशत शेयर लिएकाे, हुण्डाईको क्रेटा गाडी खरिद गरेको, भाइको खातामा १५ लाख ५० हजार जम्मा गरेको, जलविद्युत सहकारी संस्थाबाट लिएको १५ लाख ऋण तिरेको र ५ लाखको सुनको ब्रास्लेट खरिद गरेको पत्ता लागेको प्रहरीले जनाएकाे छ ।