दोलखा एमाले अध्यक्षमा भरत दुलालको उम्मेदवारी : यस्तो छ राजनीतिक जीवन

  • मिसन संवाददाता
  • आइतवार, माघ २१, २०८० १५:१५
दोलखा एमाले अध्यक्षमा भरत दुलालको उम्मेदवारी : यस्तो छ राजनीतिक जीवन

तीन दिनपछि सरेको नेकपा (एमाले) दोलखाको जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। यसअघि एमाले दोलखाको दशौं जिल्ला अधिवेशन यही माघ १९, २० र २१ गते सम्पन्न गर्ने निर्णय भएकोमा तीन दिन पछि सरेर २२, २३ र २४ गते पुगेको थियो ।

अधिवेशनको प्रतिनिधि छनोटको काम सम्पन्न भैसकेको छ। नेकपा एमाले दोलखाको १० औँ जिल्ला अधिवेशनमा ६ सय जना भन्दा धेरै प्रतिनिधिहरु सहभागी हुने भएका छन् । अधिवेशनमा सबै भन्दा वढि भूगोलबाट ४ सय ५० जना प्रतिनिधि सहभागि हुने नेकपा एमाले दोलखाको प्रतिनिधि छनौट उपसमितिका संयोजक राजेन्द्र मानन्धरले जानकारी दिए।

उनका अनुसार जनसङ्गठनबाट ५० जना, उत्पिडित समुदायबाट ५० जना, सल्लाहकार परिषद्बाट २५ जना तथा सम्पर्क मञ्चबाट २१ गरी ५ सय ९६ जनाले प्रतिनिधिको रुपमा अधिवेशनमा भाग लिनेछन् भने कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात ३० जना अधिवेशन आयोजक कमिटीले मनोनित गर्न पाउनेछ । मनोनित सहित ६ सय २६ जना अधिवेशनमा प्रतिनिधि सहभागि हुने नेकपा एमाले दोलखाले जनाएको छ ।

अधिवेशन नजिकिएसंगै अत्याधिक चिसो चरिकोटको मौसम एकाएक गर्माएको छ । दोलखामा क्रियाशील परम्परागत दुई गुट आफ्नो प्यानलको रोस्टर तयार पार्न कस्सिएका छन् । दोलखामा पार्टीका पोलिटब्युरो सदस्यहरु पार्वत गुरुङ्ग र आनन्द पोखरेलका दुई छुट्टाछुट्टै गुट सक्रिय रहेको बताईन्छ । प्रतिनिधिसभाको निर्वाचनपछि जबर्जस्त रुपमा देखिएको बालकृष्ण शिवाकोटीको समूहले छुट्टै अस्तित्व देखाउँछ कि परम्परागत गुटमा मिसिन्छ त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

हाम्रो मिसनलाई दोलखा एमालेका एक तन्नेरी नेताले उपलब्ध गराएको सुची अनुसार दुवै समूह आफ्नो प्यानलको रोस्टर तयार गरेर वार्मअप गरिरहेका छन् । दोलखा एमालेको अध्यक्षका लागि नरबहादुर श्रेष्ठ, इश्वरचन्द्र पोखरेल र भरत दुलालको त्रिपक्षिय प्रतिष्पर्धा हुने लगभग पक्कापक्की भएको छ । दुलालको उम्मेदवारीलाई दोलखामै कतिपय एमाले कार्यकर्ताले पार्वत गुरुङ्ग र आनन्द पोखरेलको सिन्डिकेट तोड्ने अवसरको रुपमा लिएका छन् भने कतिपयले कतै भिम रावल (चितवन महाधिवेशनमा केपी ओलीसंग अध्यक्षका प्रत्यासी) बनाउने त हैनन् भन्ने चिन्ता समेत ब्यक्त गरेका छन् ।

कुनै गुटको ‘सरकारी लिस्ट’ मा नबसेका भरत दुलालले आफुलाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । हाम्रो मिसनको यो समाचारमा अध्यक्षका उम्मेदवार मध्ये वैचारिक र राजनीतिक छवि बनाएका भरत दुलालको राजनीतिक जीवनलाई समेट्न खोजिएको छ ।

कक्षा ८ सम्म दोलखामा अध्ययन गरेका दुलाल बाँकी पढाई पुरा गर्न काठमाडौँ आए । यसै सिलसिलामा उनले २०४६ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरे । मदन भण्डारीको लोकप्रियताबाट प्रभावित भएर राजनीतिमा होमिएका दुलाल ४६ को जन-आन्दोलनमा पटक पटक प्रशासनबाट पक्राउ समेत परे ।

दुलालमा देखिएको नेतृत्व क्षमताबाट प्रभावित भएर संगठनले उनलाई २०४७ सालमा अनेरास्ववियु, ज्ञानोदय मा.वि., कालीमाटी, बाफलमा प्रारम्भिक भेला आयोजक कमिटीको संयोजक बनायो । २०४९ सालमा अनेरास्ववियु महेन्द्ररत्न क्याम्पस, ताहाचलमा प्रारम्भिक कमिटीको सदस्य बनेका दुलालले सोहि साल भएको स्ववियु निर्वाचन जिते ।

२०५० सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका दुलाल ठ्याक्कै ३ दशकपछि जिल्ला अध्यक्षमा दाबी गर्दैछन् । २०५१ सालमा उनी अनेरास्ववियु महेन्द्ररत्न क्याम्पस ताहाचल प्रारम्भिक कमिटीको उपाध्यक्ष र अनेरास्ववियु, दोलखा काठमाडौं सम्पर्क कमिटीको उपाध्यक्ष निर्वाचित भए ।

२०५२ सालमा अनेरास्ववियु, दोलखा- काठमाडौं सम्पर्क कमिटीको अध्यक्षमा निर्वाचित भएका दुलालले २०५४ सम्म उक्त जिम्मेवारीमा रहेर काम गरे । २०५५ सालमा अनेरास्ववियु अमृत साइन्स क्याम्पस प्रारम्भिक कमिटीको सचिवको जिम्मेवारी पाएका दुलालले सोहि वर्ष अनेरास्ववियुको तर्फबाट स्ववियु सचिवमा उम्मेद्वारी दिए ।

२०५६ सालमा अनेरास्ववियु अमृत साइन्स क्याम्पसमा प्रारम्भिक सम्मेलन आयोजक कमिटीको संयोजक बनेका दुलाल २०५७ सालमा अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिको उम्मेद्वार नै बने। २०५७ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीको सदस्य बनेका दुलाल २०५७ मै जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजक तथा वागमती अञ्चल कमिटीको सचिवालय सदस्य हुँदै २०५८ मा अनेरास्ववियुको राष्ट्रिय परिषद सदस्य बने ।

२०५८ मा अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीको अध्यक्ष र नेकपा एमाले काठमाडौं जिल्ला विद्यार्थी प्रयाक्सनको सचिव समेत बने । २०५९ सालमा अनेरास्ववियुको १६ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय कमिटी सदस्य बनेका दुलाललाई पिपुल्स भोलियन्टर्सको सेन्ट्रल फोर्सको सदस्यको रुपमा गरेको योगदानको कदर गर्दै पार्टी अध्यक्ष मनमोहन अधिकारीले कदर पत्रले प्रशंसा नै गरेका थिए ।

एमालेका तत्कालिन नेता पशुपति चौलागाईं (हाल निधन) को सल्लाहमा दुलाल २०६० सालमा दोलखा फर्किएर काटाकुटी गाविसको पार्टी सचिव भएर काम गर्न थाले। पढाईमा मेधावी मानिने दुलालले राजनीतिसंगसंगै शिक्षणलाई पनि जोड दिए । गाविस अधिवेशन गराएर पुन: पार्टी प्रमुखमा निर्वाचित भएका दुलाल शिव भण्डारी जिल्ला पार्टी प्रमुख हुँदा २०६३ मा जिल्ला कमिटी सदस्य निर्वाचित भए । तत्पश्चात उनी पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि निर्वाचित भए ।

२०६६ मा भएको आठौँ जिल्ला अधिवेशनमा दुलालले हाल उनीसंगै प्रतिष्पर्धी रहेका नरबहादुर श्रेष्ठलाई सचिवमा पराजित गरेका थिए । जिल्ला सचिव निर्वाचित भएपछि दुलालले पूर्ण रुपमा शिक्षण पेशालाई त्यागे । २०७० मा भएको नवौं जिल्ला अधिवेशनमा सहमतिमा जिल्ला कमिटीको चयन भयो जसमा अध्यक्ष इश्वरचन्द्र पोखरेल, उपाध्यक्षमा नरबहादुर श्रेष्ठ र सचिवमा भरत दुलाललाई व्यवस्थापन गरियो । हाल यी तिनै जना अध्यक्षका प्रत्यासी छन् ।

डाक्टर बन्ने भनेर साईन्स पढ्न काठमाडौँ पुगेका दुलाल एकपटक मात्र लाभको पदमा पुगेका छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा दुलाल शैलुङ्ग गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । उनले ४१५६ मत ल्याएर माओवादीका रिमालबाबु श्रेष्ठ र कांग्रेसका सिंहबहादुर तामाङ्गलाई पराजित गरेका थिए ।

गाउँपालिका अध्यक्ष हुँदा शैलुङ्ग मिनी ग्रेटवाल, रिचार्ज पोखरी जस्तो ड्रिम प्रोजेक्ट बनाएर चर्चित बनेका दुलालले अनुभूति हुनेगरी एमालेको निर्माण गर्न आफुले उम्मेदवारी दिने उनले बताए । उनले प्रतिनिधिहरुलाई हाल अध्यक्षका उम्मेदवार रहेका तिनै जना पुर्व गाउँपालिका अध्यक्ष पनि भएकाले पार्टीको घोषणापत्र कसले कति लागु गर्यो भन्ने आधारमा मतदान गर्न अनुरोध पनि गरेका छन् । उनी उत्कृष्ट गाउँपालिका अध्यक्षको रुपमा प्रदेश सरकारबाट सम्मानित समेत भएका छन् ।

  • मिसन संवाददाता
  • -