पोखराको सूर्य दर्शन सहकारी ठगी मुद्दामा पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई समेत मुछेर दिन खोजिएको उजुरी प्रहरीले फर्काइदिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले रित नपुगेको भनेर उजुरी दर्ता गर्न अस्वीकार गरेको हो ।
रविलाई समेत प्रतिवादी बनाइए पनि उजुरीमा उनी सूर्य दर्शन सहकारीमा आबद्ध रहेको कुनै पनि तथ्य प्रमाण पेश गरिएको थिएन । सहकारीको सदस्यसमेत नरहेको व्यक्तिलाई ठगीमा जबरजस्ती मुछ्न खोजिएपछि दर्ता गर्न नसकिएको प्रहरी स्रोतको दाबी छ ।
सूर्य दर्शन सहकारीका सञ्चालक जीवी राई हुन्, जो अहिले फरार छन् । राईले नै स्थापना गरेको ग्यालेक्सी टेलिभिजनमा रविले गुडविल सेयर लिएर एक वर्ष काम गरेका थिए । सोही आधारमा मात्रै सहकारी ठगीमा रवि जोडिन नसक्ने प्रहरी स्रोत बताउँछ । सूर्य दर्शनका पीडितहरूले संघर्ष समिति समेत बनाएका छन् । सोही संघर्ष समितिका तर्फबाट संयोजक किरण श्रेष्ठले दुई-तीन पटक जाँदा प्रहरीले लिन नमानेको बताए ।