दुई दिनमा अनुसन्धान नसके चौधरीका भाई छुट्ने

  • मिसन संवाददाता
  • सोमवार, माघ २२, २०८० २१:0५
दुई दिनमा अनुसन्धान नसके चौधरीका भाई छुट्ने

जिल्ला अदालत काठमाडौंले बाँसवारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनजनालाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ।

दोस्रो पटक म्याद थपका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार अदालतमा उपस्थित गराएको थियो। अदालतले दुई दिन म्याद दिँदै यो अवधिमा पनि अनुसन्धान नसकिए उनीहरुलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

‘यदि यो अवधिमा पनि अनुसन्धान नसकिएमा हाजिरी जमानीमा राखेर अनुसन्धान गर्न आदेश भएको छ’, जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी सीपी पन्थीले भने।

गत बिहीबार च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालकसमेत रहेका व्यवसायी अरुण चौधरी, च्याम्पियन फुटवेयर लिमिटेडका सञ्चालक सञ्जय ठाकुर र बाँसवारी छाला तथा जुत्ता कारखानाका पूर्वअध्यक्ष अजितनारायण थापालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो। अदालतले पहिलो पटक चार दिनको म्याद दिएको थियो। तर यो अवधिमा अनुसन्धान नसकिएको भन्दै सीआईबीले सोमबार थप म्याद मागेको थियो। तर अदालतले दुई दिनभन्दा बढी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति नदिएको हो।

  • मिसन संवाददाता
  • -