नेकपा माओवादी केन्द्रबाट निर्वाचित सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष वज्रध्वज वाइबाले एक जना सर्वसाधारणको घरबार नै उजाडिदिएकाे आराेप लागेकाे छ । वाइबाले वैदेशिक रोजगारमा गएका भीमबहादुर मोक्तानकी श्रीमतीसँग दोस्रो विवाह गरेका आराेप लागेकाे छ ।
श्रीमान् विदेशमा भएको समयमा संगीता मोक्तानले वज्रध्वज वाइबासँग विवाह गरेपछि न्यायका लागि भन्दै भीमबहादुरले माओवादीको बागमती प्रदेश कार्यालय बबरमहलमा निवेदनसमेत दिएका छन् । भीमबहादुरले निवेदन पेस गरेपछि पार्टीले वज्रध्वज वाइबासँग स्पष्टीकरण सोधेको बागमती प्रदेशका एक प्रदेश समिति सदस्य बताउँछन् ।
संगीताले आफ्नो घरमा आएर कुटपिट गर्नुका साथै विदेशमा बसेर कमाएको ७ लाख नगद पनि लगेको भीमबहादुरले निवेदनमा उल्लेख गरेका छन् । आफूले विदेशकाे कमाइले बनाएकाे घरमा पनि संगीताले कब्जा गर्न खाेजी वाइबासँग बसेको पीडितले निवेदनमा उल्लेख गरेका छन् ।
२०७८ साल असोजमा विदेशबाट घर फर्केका भीमबहादुरले श्रीमतीको खोजी गर्नका लागि प्रहरी प्रशासन, गाउँपालिकामा निवेदन दिए । तर, मंसिर १३ गते संगीता मोक्तान एकाएक घरमा आइन् । हराएकी भनिएकी श्रीमती तीन महिनामा घर आउँदा पनि छोरीका लागि भन्दै श्रीमतीलाई आफूसँगै राखेको भीमबहादुरले माओवादी कार्यालयमा दिएको निवेदनमा उल्लेख छ ।
के छ निवेदनमा ?
सर्लाही जिल्ला बागमती नगरपालिका वडा नम्बर ४ मा निकै पीडा बोकेर ठूलो आतंकका साथ हाल म मेरी नाबालिग छोरीको लालनपालन गरेर बसेको छु । म श्रमिक हूँ । ज्यालादारी गरेर जीवन गुजारा गरेर बसेको छु । बागमती नगरपालिकाले सुकुम्बासीलाई दिएको जमिनमा टहरा हालेर बसेको छु ।
मैले २०६९ साल वैशाख ८ गते हरिहरकुमारी (परिवर्तित नाम) प्रेम विवाह गरे । हामी दुईको दाम्पत्यबाट त्यसै वर्ष एक छोरी जन्मिइन् । मेरी प्यारी श्रीमती र छोरीको सुखकालागि म वैदेशिक रोजगारीमा गएँ । तिनीहरुको सुख र खुशीका लागि मैले खाई नखाई उताबाट पैसा पठाएँ । तर, श्रीमतीको भूमिका म बाट निरन्तर टाढा भएको हुदै गयो । मैले फोन गर्दा नउठाउने, उठाउँदा पनि कुरा गर्न नचाहने, झर्कने हुन थाल्यो । पछि अरुहरुबाट बुझ्दा घर कौवा एग्रिकल्चर प्रालिलाई भाडा दिएको नक्कली कागज बनाएर छोरीलाई होस्टेलमा राखेर श्रीमतीले घर छाडेको भन्ने थाहा भयो । मलाई त्यतिवेला आकास खसेको जस्तो भयो । मलाई त्यही विदेशमै आत्महत्या गरौँ जस्तो भयो ।
मैले सबैभन्दा माया गरेकी श्रीमतीले किन यस्तो व्यवहार गरेको भन्ने भयो । र, मेरी नाबालिग छोरीको हालत के भयो होला भन्ने भयो । जसको खुशीमा म विदेशमा आएको छु, अब किन बस्ने भनेर म तत्काल घर फर्कने निर्णयमा पुगे । कम्पनीले विदा नदिने भनेपछि म अब आत्महत्या गर्छु भनेपछि विदा दियो । बेलाबेलामा फोन उठाउँदा मेरी श्रीमतीले नेपाल नआउन भन्थिन् । खतराको संकेत दिएकी थिइन् । त्यसैले कसैलाई पनि थाहा नदिई नेपाल आए, घर गए । छोरीलाई होस्टेलमा भेट्दा उसको अनुहार हालत देख्दा टुहुरो भएको लागेर जीवनमा म त्यसरी पहिले कहिले रोएको थिइन । म बेस्सरी रोएँ । मैंने छोरीलाई सँगे घर लान्छुु भन्दा विद्यालय प्रशासनले दिएन । पछिमात्र छोरीलाई साथमा ल्याएर राखेको छु ।
म २०७८ साल असोज ५ गते स्वदेशमै श्रीमतीको खोजीका लागि सबैतिर लागे । प्रहरी प्रशासन, नगरपालिका सबैतिर निवेदन दिएँ । तत्कान कतै फेला परिनन् । मेरी श्रीमती त्यही सालको मंसिर १३ गते घर आइन् । मलाई धोका दिएको भन्दै मनमनै उनीसँग रिस त उठेको थियो । तर, मेरो छोरीको लागि मैले सम्झौता गरे । स्वीकार गरे । भोलिपल्ट मंसिर १४ गते बज्रध्वज गाउँ आए । मलाई बोलाए । तैलेँ मेरो श्रीमती लगेको भनेको होइनस्, घरमा नै रहेछ त भनेर बेस्सरी कुटे । उनीसँग रहेका १०/१२ जनाले त्यो हेरिरहे । मैले तपाईलाई दोष लगाएको छैन, हराएको श्रीमतीको खोजी गरेको मात्र भनिरहे । आइन्दा निहुँ खोजिस् भने तलाई पनि पहिला मारेका १२ जना जस्तै मार्छु भने । तलाई र तेरो छोरीलाई मार्छु भने । त्यसपछि पनि मेरी श्रीमती र मेरो सम्बन्ध राम्रै थियो । पौषको मसान्तमा उनी फेरि हिडिन् । माघको पहिलो हप्तामा फोन गरेर अब मेरो पछि नलाग्नु, यदि यसबारेमा बाहिर गएमा, मिडियामा गएमा तिमीहरुको नाममा आत्महत्या गर्छु भनेर उनले भनिन् ।
बज्रध्वज वाइवाले मेरा आफन्तमार्फत् बेलाबेलामा अहिले पनि मलाई धम्की दिइरहेका छन् । सुकुम्बासीका नाममा मैले पाएको जग्गालाई नि एक संस्थाका नाममा भाडा दिएको बनाएर बेलाबेलामा लखेट्ने बताइरहेका छन् । मेरो श्रीमतीले छाडेको पीडा त मलाई छदैछ, मेरो छोरीको जीवनलाई नै खतरामा पार्ने धम्की आइरहेको छ । मेरो घर जग्गा पनि लैजाने धम्की दिइरहेका छन् । मेरो, प्राण जस्तै मेरी प्यारी छोरीको जीवन रक्षा र सम्पतिको रक्षाका लागि यो निवेदन दिएको छु । गलत काम व्यवहार गर्नेहरुमाथि कार्वाही होस भन्ने पनि राख्दछु । मेरी श्रीमती र बज्रध्वज वाइवाका बीचमा भएका कुराकानीको अडियो पनि यसैसाथ संलग्न गरेको छु । यसबारेमा पनि अनुसन्धान होस् ।