सामान्य जिवनशैलिका मन्त्री हितबहादुर तामाङ : संक्षिप्त परिचय

  • मिसन संवाददाता
  • बुधबार, फाल्गुन २३, २०८० १३:४२
सामान्य जिवनशैलिका मन्त्री हितबहादुर तामाङ : संक्षिप्त परिचय

सधै सामान्य जिवनशैलिमा देखिने नुवाकोटका बामपन्थी नेता नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हितबहादुर तामाङ दोस्रो पटक नेपाल सरकारको मन्त्री बन्नुभएको छ । उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार माओवादी केन्द्रको तर्फबाट विनाविभागीय मन्त्री बनाउनुभएको हो ।

नेपाली राजनीतिमा चर्चित एवं प्रभावशाली नेता तामाङको जन्म वि.स.२०२१ साल जेठ १५ गते साविकको पञ्चकन्या गाविसको वडा नम्बर ३ घलेभञ्ज्याङमा बुवा मइते तामाङ र आमा श्रीमाया तामाङको कोखबाट मध्यमवर्गिय किसान परिवारमा उहाँको जन्म भएको हो ।

सामान्य किसान परिवारमा जन्मिनुभएका तामाङले नुवाकोटकै अमरज्योति माध्यामिक विद्यालय खरानीटारबाट आफ्नो औपचारिक शिक्षा सुरुवात गर्नुभएको थियो । सोही विद्यालयबाट २०३९ सालमा एस.एल.सी.दिनुभएका तामाङले २०४० मा साविक थप्रेक गाविसको वडा नम्बर ३ स्थित आरुखर्कको मंंगला माध्यमिक विद्यालयमा अध्यापन गराउन सुरु गर्नुभएको थियो । तामाङले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ ।

विगत ४ दशक अगाडीदेखी राजनीतिक जीवनमा होमिनुभएका तामाङ २०३६ सालमा १६ वर्षको कलिलै उमेरमा कम्युनिष्ट दर्शनबाट प्रभावित भई कम्युनिष्ट राजनीतिमा होमिनुभएको थियो ।

२०३६ सालमा अनेरास्ववियुको सदस्य बन्नुभएका उहाँले २०३८ सालमा नुवाकोट जिल्ला समिति सचिव पदको जिम्मेवारी सम्हाल्नुभएको थियो । विद्यार्थी राजनीतिबाट राजनीतिक यात्रा सुरु गर्नुभएका तामाङले २०४७ सालमा पार्टी सदस्य बन्नुभएको थियो । उहाँ २०४८ सालमा एकता जिल्ला सम्मेलन पछि जिल्ला उपाध्यक्ष हुनुभएको थियो । २०४९ सालमा जनवादी युवा लिगको केन्द्रिय सदस्य वन्नुभएका तामाङले २०४९ सालमा पार्टीको पूर्णकालिन भएर आफ्नो जीवन पार्टीमा समर्पित गर्दे आउनुभएको छ । तामाङ २०५१ सालमा संयुक्त जनमोर्चा नेपालको केन्द्रिय सदस्य समेत बन्नुभएको थियो ।

२०५२ सालमा तत्कालिन नेकपा माओवादीले जनयुद्ध घोषणा गरेपछि उहाँ जनयुद्धको सुरुवाती चरणदेखीनै आवद्ध भएर २०६१ सालसम्म भूमिगत हुनुभएको थियो । राजनीति गर्ने क्रममा उहाँ पटक–पटक जेल समेत पर्नुभएको थियो ।

भूमिगत रहँदा २०५३ सालमा क्षेत्रिय व्युरो सदस्य तथा नुवाकोट र रसुवा जिल्लाको संयुक्त जिल्ला इन्चार्ज भएर काम गर्नुभएका तामाङ २०५९ सालमा नेकपा माओवादीको केन्द्रिय सदस्य बन्नुभएको थियो । जनयुद्धमा लागेको ७ बर्षपछि २०५९ जेठ २० गते देशद्रोहीको अभियोगमा भारतिय सरकारले गिरफ्तार गरेको २५ महिनापछि नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि रिहा हुनुभएको थियो ।

नेकपा माओबादी निकट तामाङ राष्ट्रिय मुक्ति मोर्चाका सस्थापक समेत रहनुभएका तामाङ नुवाकोट जिल्लाको बामपन्थी आन्दोलनका अगुवा हुनुका साथै बर्गीय र जातीय आन्दोलनका अथक योद्धा मानिनुहुन्छ । पदको लोभलालच नभएको, इमान्दारी, सोझोपन र सरल जिवनशैली रुचाउने नेता तामाङलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासपात्रमा लिनुहुन्छ ।

राजनीतिक यात्रामा धेरै उतारचढाव भोग्नुभएका तामाङ २०५८ सालमा माओवादीको केन्द्रीय सदस्य बन्नुभएको थियो । माओवादी पार्टी शान्ति प्रक्रियामा आएपछि २०६३ मा अन्तरिम व्यवस्थापिकाका सदस्य चुनिनुभएका तामाङ पहिलो संविधान सभा सदस्य निर्वाचन २०६४ र दोस्रो संविधान सभा सदस्य निर्वाचन २०७० मा झिनो मतन्तरले पराजित हुनुभएको थियो । २०७४ र २०७९ मा नुवाकोटको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका तामाङ सोमबार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री भएर पद तथा गोपनियताको सपथ लिनुभएको छ । यसअघि तामाङ २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बन्नुभएको थियो । त्यसबेला उहाँले तीन महिना मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभएको थियो ।

सामान्य जिवनशैलीमा देखिने स्वच्छ छवी, सरल स्वभावका नेता तामाङ २ छोरी, १ छोरा र श्रीमती सहित स–परिवारको साथमा काठमाडौको धुम्वाराहीमा भाडाको घरमा अस्थाई बसोवास गर्दै आईरहनुभएको छ ।

  • मिसन संवाददाता
  • -