बनेपामा एक घर एक धारा अभियान

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १६:0४
बनेपामा एक घर एक धारा अभियान

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–११ मा जनतालाई स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले एक घर एक धारा अभियानलाई तीव्र बनाइएको छ । अभियान सञ्चालनका लागि हाल धारा जडान, ट्याङ्की निर्माण, डिपबोरिङलगायत काम भइरहेको वडाध्यक्ष शिवकुमार थापाले जानकारी दिनुभयो । सिनागालस्थित अपाङ्ग बाल अस्पताल पुनः स्थापना केन्द्रसहित करिब एकसय घरमा स्वच्छ खानेपानी पु्याउन अभियान थालिएको उहाँले बताउनुभयो । वडाध्यक्ष थापाका अनुसार धनेश्वरमा खानेपानी ट्याङ्की निर्माण भइसकेको छ । “गिरी र बञ्जरा टोलका लागि भने ट्याङ्की निर्माण भई पाइपलाइनको काम बाँकी छ । खानेपानी वितरणका लागि बजेट विनियोजन गरी पूर्वाधार निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो । आगामी चार वर्षमा सबै घरमा स्वच्छ खानेपानी पु्याउने योजनसहित वडा कार्यालयले स्वच्छ खानेपानी अभियानलाई तीव्रता दिएको छ । पानीघाटस्थित डिपबोरिङ सञ्चालनका लागि विद्युत् प्राधिकरणसँग समन्वय गरी दुई महिनाभित्र उक्त क्षेत्रमा विद्युत् सञ्चालन गरिने वडाध्यक्ष थापाले जानकारी दिनुभयो । पानीघाट उपाभोक्ता समितिका अध्यक्ष गौतमप्रसाद गौतमले एकसय ५० घरधुरीलाई खानेपानी उपलब्ध गराउने योजना अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “केहीदिन अघिदेखि कतिपय घरका धारामा पानी झरिसकेको छ”, उहाँले भन्नुभयो । योजनाअन्तर्गत ९० प्रतिशत काम सम्पन्न भएको छ भने डिपबोरिङका लागि विद्युत् उपलब्ध नहुँदा काम रोकिएको छ । विद्युत् आपूर्तिपछि बाँकी कामलाई निरन्तरता दिइने बताइएको छ । अध्यक्ष गौतमका अनुसार डिपबोरिङका लागि बागमती प्रदेश सरकारबाट रु ६० लाख, बनेपा नगरपालिकाबाट रु १५ लाख र जिल्ला समन्वय समितिबाट रु १५ लाख विनियोजन भएको थियो । यसअघि उपभोक्ता समितिका सदस्यलाई मात्रै खानेपानी उपलब्ध गराउने विधान संशोधन गरी सबै घरमा धारा जडान गरिएपछि नयाँ र पुराना ग्राहकबीचको विभेदको अन्त्य भएको थियो । उपभोक्ताको निरन्तर खबरदारी, सहयोग तथा चासोका कारण ठेकेदार कम्पनीले कामलाई तीव्रता दिएको उपभोक्ता समितिका उपाध्यक्ष रामकृष्ण हुमागाईंले बताउनुभयो ।

  • मिसन संवाददाता
  • शुक्रबार, फाल्गुन १२, २०७९ १६:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट