गड्डाचौकीबाट ६ महिनामा रु सात करोडको तरकारी आयात

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १६, २०७९ १६:४२
गड्डाचौकीबाट ६ महिनामा रु सात करोडको तरकारी आयात

कञ्चनपुरको गड्डाचौकी नाकाबाट ६ महिनामा रु सात करोड भन्दा बढीको तरकारी आयात भएको छ । कञ्चनपुरका बितेका वर्षमा तरकारी खेतीप्रति किसानको आकर्षण बढिरहेको भए पनि यहाँ तरकारी भारतबाट आउने क्रम रोकिएको छैन् । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको साउनदेखि गत पुससम्म यहाँबाट रु सात करोड ६५ लाख ४४ हजारको तरकारी आयात गरिएको छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रव विकले चालु आर्थिक वर्षको हालसम्म रु ८० करोडको सामान आयात भएको जानकारी दिनुभयो । “गत वर्ष एक अर्ब १२ करोडको सामान यहाँबाट भित्रिएको थियो”, उहाँले भन्नुभयो, “ अहिले आयात घटेको अवस्था छ ।” भन्सार कार्यालयका अनुसार यहाँबाट आलु, प्याज, गोलभेडा, काउली, मुला, गाजर लगायतका तरकारी आयात हुने गरेको छ । कूल ६ महिनामा तीन हजार ४७ मेट्रिक टन तरकारी भारतबाट आयात भएको भन्सारको तथ्याङ्कले देखाएको छ । त्यसैगरी भन्सारबाट रु तीन करोड ३० लाखको दाल भारतबाट भित्रिएको छ । यहाँबाट मसुर, मास, मटर, चना लगायतको दाल आयात भएको छ । कञ्चनपुर भन्सार कार्यालयका कम्प्युटर अपरेटर भुषण गिरीले यहाँबाट चालु आर्थिक वर्षको ६ महिनामा रु तीन करोड ६८ लाखको फलफूल गड्डाचौकीबाट भित्रिएको छ । गिरीका अनुसार यहाँबाट सबैभन्दा बढी केरा, मेवा, अङ्गुर, स्याउ, सुन्तला र अनार लगायतको फलफुल भारतबाट आयात हुँदै आएको छ ।त्यसैगरी भारतबाट चामल, दाल लगायतका खाद्यान्नसमेत आयात हुने गर्छ । यहाँबाट रु एक करोड ७८ लाख बराबरको उक्त खाद्य सामग्री भित्रिएको छ । कञ्चनपुर मण्डी व्यवसायी सङ्घका अध्यक्ष विशाल सोनारले भारतबाट तरकारी आयात घटेको बताउनुभयो । “ स्थानीय उत्पादनका कुनै समस्या देखिएन भने आयात घट्छ”, अध्यक्ष सोनारले भन्नुभयो, “ उत्पादन बढ्दा आयातमा कमी आउँछ ।” स्वदेशमै तरकारी खेती बढिरेहको भए पनि व्यावसायिक रुपमा आवद्ध किसानलाई सरकारले अनुदान सहयोग बढाउनुपर्ने बताउनुभयो । “दश÷ पन्ध्र वर्ष पहिले तरकारीमा हामी ८० प्रतिशत आश्रित थियौँ”, उहाँले भन्नुभयो, “अहिले दश÷पन्ध प्रतिशत मात्रै आयात हुन्छ की भन्ने छ ।”

  • मिसन संवाददाता
  • मङ्लबार, फाल्गुन १६, २०७९ १६:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट