प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अधिराज्य बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल भ्रमणका क्रममा यसअघि उहाँ बुधबार हुनमानढोका दरबार क्षेत्रमा नेपालस्थित बेलायती दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले बिहीबार अरुण जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गर्नुभएको थियो । उक्त परियोजनामा बेलायतले लगानी बोर्डमार्फत आर्थिक लगानी गरेको छ । बुधबार नेपाल भ्रमणमा आउनुभएकी राज्यमन्त्री ट्रेभेलियन आज स्वदेश फर्कंदै हुनुहुन्छ ।